ठगी आरोपमा मेनपावरकाे इजाजतपत्र खारेज

118

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनेर ठगी गरेको आरोपमा विस एचआर सोलुसन प्रालिको इजाजतपत्र खारेज गरिएको छ।

विभिन्न देश पठाउने भन्दै ४३ जनालाई ठगेको पाइएकाले कम्पनीको इजाजतपत्र खारेज गरिएको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए। इजाजतपत्र नं. १४२५/०७४/०७५ रहेको कम्पनीका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी र अमृत श्रेष्ठ हुन्।

तीनै जना सञ्चालक विरुद्ध उजुरी परेको थियो। त्यस्तै, कर्मचारी रमेश कोइराला भनिने फणीन्द्र कोइराला विरुद्ध पनि विभागमा उजुरी आएको थियो।

उनीहरूले सरिता भुजेल लगायत ४३ जनालाई पोल्यान्ड, क्रोएशिया, जापान, कतार, अमेरिका पठाउने भन्दै रकम उठाएको पाइएको छ। विभागका अनुसार ४३ जनाबाट तीन करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ लिएको पाइएको हो। उनीहरूले वैदेशिक रोजगारीमा नपठाएको र लिएको पैसा समेत फिर्ता नदिएको उजुरीकर्ताको भनाइ छ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम विस एचआर सोलुसन प्रालिको इजाजतपत्र खारेज गरिएको र सञ्चालक तथा कर्मचारी विरुद्ध मुद्दा दर्ता गरिएको हो। ठगी गरेको तीन करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ बिगो र त्यसको ५० प्रतिशतले हुन आउने हर्जना समेत पीडितलाई दिलाउन माग गर्दै असोज २ गते वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोगपत्र दायर गरिएको निर्देशक उप्रेतीले बताए।