भक्तपुरको मत परिणाम: नेमकिपा र कांग्रेस ६-६ र एमाले १ वडामा विजयी

1047

भक्तपुर : स्थानीय तह निर्वाचनअन्तर्गत भक्तपुर नगरपालिकाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी हावी हुँदै आएको छ।

नेमकिपाले भक्तपुर नपाको बिहीबार रातीसम्म सम्पन्न भएको मत गणनाअनुसार ६ वटा वडाका सबै पदमा अत्यधिक मतसहित जीत निकालेको छ।

दस वटा वडा रहेको भक्तपुर नपाको मेयर र उपमेयरमा समेत नेमकिपाका उम्मेदवारहरु प्रतिद्वन्द्वीभन्दा तेब्बर मतसहित अग्रता लिइरहेका छन्।

नेमकिपाले बिहीबार भक्तपुर नपाको वडा नम्बर ५ र ६ मा जीत हात पारेको हो। जसअनुसार भनपा ५ वडामा प्रेमगोपाल कर्माचार्यको प्यानल र ६ वडामा हरिराम सुवालको प्यानल अत्यधिक मतसहित निर्वाचित भएको हो। भक्तपुर नपा ५ वडामा नेमकिपाका महिला सदस्य सम्झना खाइजू, दलित महिला सदस्यमा सरिना द्यौला र दुई खुला सदस्यतर्फ पूर्णगोपाल राजचल र बलराम न्हिसुतू निर्वाचित हुनुभयो।

त्यस्तै भक्तपुर नपा ६ को वडा सदस्यमा भक्तपुर जिल्ला विकास समितिका पूर्वसभापति गोविन्द दुवालसमेत अत्यधिक मतले निर्वाचित हुनुभयो। उक्त वडामा महिला सदस्य पूर्ववडा अध्यक्ष रोशनमैंया सुवाल, दलित महिला सदस्यमा सीतादेवी नेपाली र खुला सदस्यमा सिद्धिराम अवाल निर्वाचित हुनुभएको हो।

भक्तपुर नपामा नेमकिपाले आफ्नो वर्चश्व कायम गर्दैगर्दा चाँगुनारायण नपामा नेपाली कांग्रेसले पहिलो खाता खोलेको छ।

चाँगुनारायण नपा १ मा कांग्रेसका वडा अध्यक्ष उम्मेदवार राजेश खड्का निर्वाचित हुनुभयो। त्यस्तै महिला सदस्यमा सचिला खड्का र दुई वडा सदस्यमा गणेश श्रेष्ठ र उद्धव खड्काले कांग्रेसको तर्फ निर्वाचित हुँदा दलित महिला सदस्यमा भने राप्रपाका लीलामाया दर्जी निर्वाचित हुनुभयो।
चाँगुनारायण नपाको पछिल्लो मतगणना परिणामअनुसार मेयरमा कांग्रेसका उम्मेदवार राजाराम खड्काले अग्रता लिइरहनुभएको छ। उहाँलाई राप्रपाका रवीन्द्रप्रताप शाह, एमालेका सोम मिश्र र नेमकिपाका न्हुछेभक्त फोजूले पछ्याइरहनुभएको छ।

उपमेयरमा पनि कांग्रेसकै सरु बानियाँ अग्रस्थानमै हुनुहुन्छ। उहाँलाई राप्रपाका यवती कार्कीले पछ्याइरहनुभएको छ।

सूर्यविनायक र मध्यपुरमा एमालेले कांग्रेसलाई उछिन्यो
यता मध्यपुर थिमि र सूर्यविनायक नपामा भने कांग्रेसको अग्रतालाई एमालेले तोडेको छ।

मध्यपुर थिमि नपाको मेयरमा एमालेका मदनसुन्दर श्रेष्ठले कांग्रेसका अष्टकुमार कवेलाई उछिन्नुभएको हो। तर उपमेयरमा भने कांग्रेसका अञ्जना मधिकर्मी नै अग्रस्थानमा हुनुहुन्छ। उहाँलाई नेमकिपाका केदार खड्काले पछ्याइरहनुभएको छ।

मध्यपुर थिमि नपाको ३ वटा वडाको मत गणनासम्म अग्रस्थानमा रहेको कांग्रेस ४ नम्बर वडाको मत गणनामा पछि पर्न गएको हो। मध्यपुर थिमि नपाको १, २ र ३ वडामा भने कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन्।

त्यस्तै सूूर्यविनायकमा पनि ३ नम्बर वडासम्म अग्रता लिएको कांग्रेसका मेयर उम्मेदवार विष्णुराज कार्की ४ नम्बरको मतगणना एमालेका वासुदेव थापाको पछि पर्नुभएको छ। उपमेयरमा पनि एमालेका जूना बस्नेत अग्रस्थानमा हुनुहुन्छ भने कांग्रेसका कल्पना राजथला दोस्रो स्थानमा रहनुभएको छ।
सूर्यविनायक नपामा एक वडामा एमाले र दुई वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

बिहीबारको मत गणना परिणामअनुसार सूर्यविनायक नपा ३ मा कांग्रेस वडा अध्यक्षसहित प्यानल नै जितेको हो। जसअनुसार वडा अध्यक्षमा शिवशरण खत्री, महिला सदस्यमा अम्बिका राउत र दुई खुला वडा सदस्यमा घनश्याम भट्टराई र प्रभुभक्त मादी श्रेष्ठ निर्वाचित हुनुभएको हो।