चुरोटको कुल्पी देखि ब्रेक सु सम्म सुन छ, नेपालमा स्वर्ण युग नै आएजस्तो छ : ओली 

124

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्वर्ण युग नै आएको बताउनुभएको छ । उहाँले सरकारलाई घोचपेच गर्दै स्कुटरको ब्रेक सु देखि चुरोटको कुल्पी अनि पानी तान्ने पम्प सम्ममा सुन फेला पर्नु नेपालमा स्वर्ण युग आए बराबर नै भएको बताउनुभएको हो ।

दीपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोह तथा पुस्तक विधाता २, विधाता ३ र विधाता ४ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले नेपालमा स्वर्ण तस्कर युग आएको बताउनुभएको हो ।


समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्करी काण्डहरू चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताउनुभएको हो  । उहाँले देशलाई सफल बनाउन नातागोता परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्न सक्नुपर्ने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पार्दै देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गर्दा मुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरू पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने समेत उहाँको दाबी रहेको थियो  ।


उहाँले मुलुकको अवस्था नाजुक रहेकाले सबै नागरिकले सोच्नुपर्ने बेला आएको भन्दै परिवर्तनका लागि नागरिकहरू नै अग्रसर हुनुपर्ने समेत बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा तीन पुस्तकको लोकार्पण तथा समाजमा विद्यमान विभिन्न समाजसेवीहरु सुरक्षाकर्मी तथा पत्रकारहरूलाई सम्मान समेत गरिएको थियो ।


कार्यक्रमको सभापतित्व प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले गर्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू, कलाकार जितु नेपाल लगायतका महानुभावको उपस्थिति रहेको थियो ।