बिरामी बोक्ने एम्बुलेन्समा गाँजा ओसारपसार

58

काठमाडौं  । नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागुऔषध ओसार्न एम्बुलेन्स प्रयोग भएको पाइएको छ।

बिरामी बोक्ने एम्बुलेन्समा २१ किलोग्राम गाँजासहित विराटनगरमा चालक पक्राउ परेपछि यो तथ्य खुलेको हो।

प्रहरीले गाँजा बोकेको एम्बुलेन्सलाई चालकसहित विराटनगरबाट नियन्त्रणमा लिएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार  विराटनगर –१८ लाभाघाटमा गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

चालक धरान–११ का ३८ वर्षीय गंगा सरकार रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

को १ च ४६१९ को एम्बुलेन्सको डिकीमा राखी ल्याइएको २१.५ किलोग्राम गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाँजा बरामद भएसँगै राजन अधिकारी फाउण्डेशन धरानद्वारा सञ्चालित उक्त एम्बुलेन्स, चालक र सोही स्थानमा रहेको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। एम्बुलेन्स तथा चालकबारे अनुसन्धान भइरहेको प्रहरी भनाइ छ।

इलाका प्रहरी कार्यालय बुद्धनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर–१८ स्थित खेतमा परालमा लुकाई राखेको साढे १६५ किलोग्राम थप गाँजा समेत बरामद गरेको छ।