नेपालगन्जमा लगाइएको कर्फ्यु साँझ ८ बजेसम्मका लागि हटाइयो, निषेधाज्ञा कायमै 

108
  नेपालगन्ज : नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने सङ्केत देखिएपछि गत मङ्गलवार देखी स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाएको कर्फ्यु आदेश तीन दिन पछि खुकुलो पारेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा आज बिहान जारी विज्ञप्तिमा असोज १८ गते बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाउने र १८ गते साँझ ८ बजेदेखि १९ गते बिहान ६ बजेसम्म कर्फ्यु रहने उल्लेख छ । यो स्थानमा कर्फ्यु हटेको समयमा निषेधाज्ञा जारी भएको छ ।
स्थानीय प्रशासनले जारी कर्फ्यु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२० को दफा ६ (क) (१) (३) बमोजिम २०८० असोज १६ गते दिउसो १ बजेदेखि लागू हुने गरी अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरेको थियो ।
साथै स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रमा भेला, बैठक, सभा, जुलुस, पोस्टर पम्पप्लेट, जस्ता प्रचार सामाग्री प्रयोग गर्न टाँस्न नपाईने, हुलमा जम्मा हुन वा एक ठाउँमा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निशेधज्ञा समेत जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्लामा शान्ति सुव्यवस्था कायम गर्नका लागि सबैमा अपिल गरिएको छ । नेपालगन्जमा उत्पन्न पछिल्लो घटनाक्रमपछि हिजो मात्र सर्वदलीय सर्वपक्षीय बैठक बसेको थियो ।