आज घटस्थापना, घरघरमा जमरा राखिँदै

35
काठमाडौं । हिन्दुधर्मावलम्बीको ठूलो पर्व दसैं अर्थात् नवरात्र आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ ।

दसैं आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको मानिन्छ । पञ्चांग निर्णायक समितिका अनुसार आज बिहान ११:२९ बजेको साइतमा घटस्थापना गरिनु अर्थात् जमरा राख्नु उत्तम मानिन्छ ।

आजको दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमा जौं रोपिन्छ ।

यसरी जमरा राखेपछि बडा दसैं अर्थात् विजयादशमीका दिन यसलाई रातो टीकाका साथमा समृद्धिको प्रतीक मानेर पहेंलो जमरा लगाइने गरिन्छ । जौंको जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन जमरा लगाइने गरिन्छ । यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।