विजय जुलुसबाट फर्किँदा गाउँपालिकाका अध्यक्षसहित कुटिए, सातजना घाइते

569

धादिङ: नेपाली कांग्रेसबाट ज्वालामुखी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विनोद तिमल्सिनासहितलाई कुटपिट गरिँदा सात जना नेता कार्यकर्ता घाइते भएका छन् ।

शनिबार साँझ विजय जुलुसबाट फर्कने क्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिनासहित कांग्रेस कार्यकर्तालाई एमाले कार्यकर्ताले घेरा हालेर आक्रमण गर्दा तिमल्सिना लगायत ७ जना घाइते भएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

घाइतेहरुलाई हिजो साँझ जिल्ला अस्पताल ल्याइएको छ।आक्रमणमा महासमिति सदस्य यमनाथ दनै र जिल्ला समिति सदस्य नरेन्द्रभट्ट घाइते छन् ।

घाइते भट्टलाई थप उपचारका लागि जिल्ला अस्पतालले काठमाडौँ पठाएको छ भने अन्य घाइतेको धादिङबेँसी जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

नेकपा एमाले ज्वालामुखीले भने घटना दु:खद र दुर्भाग्यपूर्ण भएको बताएको छ । कांग्रेस कार्यकर्ताहरुले वियरका बाेत्तलले अाफ्ना कार्यकर्ता चढेको गाडीमा हानेपछि झडप हुन पुगेको एमलेले बताएको छ ।

धादिङ ससदरमुकामबाट करिब १७ किलोमिटर टाढा भएको उक्त स्थानमा तत्कालै सशस्त्र र नेपाल प्रहरीकाे टाेली पुगेकोले थप क्षति हुन पाएन ।