गठबन्धन भत्काउने सपना नदेख्न माधव नेपालको चेतावनी

28

भक्तपुर  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताएका छन् ।

एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान असफल बनाउने प्रयास भइरहेको बताउँदै संविधान र व्यवस्थाको रक्षाका लागि मोर्चालाई बलियो बनाउन आवश्यक रहेको बताएका हुन् ।

पार्टीले समाजवादी जागरण रोजगारी, सुशासन, समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढाएको बताउँदै नेता नेपालले भ्रष्टाचार र व्यक्तिवादबाट मुक्त भइयो भने मात्र त्यसको सही कार्यान्वयन हुने बताए ।

“संविधानलाई असफल बनाउन खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने र पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने तत्वप्रति सबै होसियार हुनुपर्छ,”– उनले भने ।

अध्यक्ष नेपालले देशलाई प्रतिगमनमा लैजान खोज्ने तत्वले अहिले पनि गठबन्धनन भत्काउन खोजिरहेको बताए । सत्ता गठबन्धन पाँच वर्षका लागि बनेकाले गठबन्धन भत्काउँछौँ भन्ने सपना कसैले नदेख्न उनले चेतावनी दिए ।

पछिल्ला समय नयाँ आएका दलले पुराना दल र तिनका नेता कुनै काम लाग्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए ।