जब किस्ट अस्पतालको टोली विरामीको डेरामा पुग्यो…..

96

बलराम प्यासी
काठमाण्डौ । धेरैजनालाई विरामीको उपचार गरेपछि अस्पताललाई तिर्नपर्ने शुल्क नतिरेको कारण पैसा उठाउन अस्पतालको टोली विरामीको कोठामा पुगेको भान पर्नसक्छ । त्यो अनुमान स्वाभाविक पनि हो ।
तर किस्ट मेडिकल कलेज शिक्षण अस्पतालको टोली विरामीको डेरामा त्यसका लागि पुगेको भने होइन् । आइतबार एकाएक अस्पतालको टोली डेरामा पुग्दा घरबेटी समेत छक्क परेका थिए ।
नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपल्ट ‘एकैचोटी एकै व्यक्तिमा’ कलेजो र मिर्गाैलाको प्रत्यारोपण गर्न सफल भएको किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्काे, ललितपुरको जनस्वास्थ्य टोली विरामीलाई डिस्चार्ज गर्नुअघि विरामीको डेरामा पुगेको थियोे ।


मिर्गाैला र कलेजो सफल प्रत्यारोपण गरिएकी भरतपुरकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेलको स्वास्थ्य अवस्था सामान्य भएर २१ दिनपछि अस्पतालबाट डिस्चार्ज गर्नुअघि विरामी बस्ने डेराको अवस्थाबारे बुझ्न अस्पतालको टोली डेरामा गएको हो ।
अंग प्रत्यारोपण गरिएको व्यक्तिलाई अन्य रोगको संक्रमण हुनबाट जोगाउन उत्तिकै सावधानी अपनाउनुपर्ने भएकोले अस्पतालबाट डिस्चार्ज भएपछि उनी बस्ने डेराको भौतिक र वातावरणीय अवस्था बुझ्न र उनलाई रेखदेख र स्याहार सुसार गर्ने तरीका अभिभावकलाई सिकाउन अस्पतालको टोली विरामीकोे डेरामा पठाइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताए ।

सो डेरामा कलेजो र मिर्गाैला एकैचोटी प्रत्यारोपण गरिएकी सोनाकुमारी मात्रै नभई उनलाई कलेजो दिने श्रीमान निरचन्द्र भुजेल र मिर्गाैला दिने भाउजु मञ्जुकुमारी क्षेत्री जिसी पनि बस्छन् ।
बुद्धनगर, बानेश्वरस्थित सोना कुमारीको डेरा (फ्ल्याट) को भौतिक अवस्था बुझ्न किस्ट अस्पतालको प्रत्यारोपण संयोजक सुस्मिता श्रेष्ठको नेतृत्वमा रोग संक्रमण रोकथाम अधिकृत मन्जिल पोखरेल र हाउस किपिङ्ग तथा जीवाणु नियन्त्रण सुपरभाइजर प्रदिप मिश्र त्यहाँ गएका थिए ।
टोलीले विरामी बस्ने डेराको भान्छा कोठाको सरसफाई, खानेकुरा र खानेपानी, विरामीले प्रयोग गर्ने शौचालय र त्यसको सरसफाई, सुत्ने कोठाको अवस्था, बस्ने कोठाको वरिपरिको वातावरणबारे जानकारी लिएर विरामीलाई स्याहार सुसार र रेखदेख गर्ने अभिभावक (विरामीको सासुआमा) लाई त्यसबारे प्रशिक्षण दिएर फर्केको थियो । दुई महिनासम्म विरामीलाई उनकी सासुआमाले मास्क लगाएर मात्र भेट्न सक्छिन भने अन्य व्यक्तिलाई विरामीको छेउमा जान अनुमति छैन ।
२०७७ साल फागुनमा नेपाल सरकारबाट अंग प्रत्यारोपणको स्विकृति पाएको दुईवर्षको अवधिमा १ सय १५ वटा मिर्गौला र एउटा कलेजो प्रत्यारोपण गर्न सफल भईसकेको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले पहिलोपटक गत असोज २२ गते एकैपटक एकैव्यक्तिमा मिर्गाैला र कलेजो प्रत्यारोपण गर्न सफल भएर नेपालमा नयाँ इतिहास रचेको हो ।


भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका अंग प्रत्यारोपण विशेषज्ञको सहकार्यमा किस्ट मेडिकल कलेज शिक्षण अस्पतालका अंग प्रत्यरोपण विशेषज्ञको टोलीले एकै व्यक्तिमा एकैपटक कलेजो र मिर्गाैला प्रत्यारोपण गरिएको र सो सफल भएको अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले बताए । ‘अब हामी (किस्ट अस्पताल) कलेजो र मिर्गाैला प्रत्यारोपण गर्न सक्षम भएका छौं’—उनले भने ।
सोनाकुमारीलाई मिर्गाैला दिने भाउजु मञ्जुकुमारी ७ दिनपछि र कलेजो दिने श्रीमान निरचन्द्र १३ दिनपछि किस्ट अस्पतालबाट डिस्चार्ज भई डेरामा फर्किसकेका थिए भने कलेजो र मिर्गाैला ग्रहणकर्ता सोनाकुमारी अस्पतालमा २१ दिनको बसाईपछि कात्तिक १२ गते आइतबार डिस्चार्ज भएकी थिइन् ।