नगरकोटमा कार्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव हुने 

 एक लाखले अवलोकन गर्ने अपेक्षा 

187

सन्जिब दुलाल

भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न लागिएको हो । सो महोत्सव कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सञ्चालन हुन लागेको हो ।

‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।

समितिका सचिव प्रदिप अघिकारीले नगरकोटको पर्यटन प्रवर्द्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हब बनाउन सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

उनले स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरी नगरकोटको विकासमा योगदान पु¥याउन नगरकोट भ्रमण वर्ष २०८२ को तयारी स्वरूप सडक महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।

महोत्सवमा स्टल सङ्ख्या २५ रहने छ । नगरकोट प्रहरी चौकी तल मूल सडक, गडगडे स्कुल अगाडि, नगरकोट टावर जाने सडक र नाल्दुम चोक देखि महाकाली स्कुल माथि सम्म स्टल रहने नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो ।

महोत्सवमा प्रत्यक्ष साङ्गीतिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरू, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरू प्रदर्शनमा रहने चाँगुनारायण नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष धनबहादुर लामाले बताउनुभयो । उक्त महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुने तयारी भइरहेको उहाँको भनाइ छ ।

महोत्सवमा एक लाख हाराहारीले मज्जा लिने अपेक्षा रहेको उहाँले जानकारी दिनुभयो ।