महालक्ष्मीमा नयाँ प्रप्रअ पौडेललाई भव्य स्वागत

12

ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेपाल सरकारका उपसचिव प्रदीप पौडेलले पद बहाली गर्नुभएको छ । शुक्रबार उहाँलाई नगरपालिकाका प्रमुख हरिगोबिन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले स्वागत गर्नुभएको थियो ।
पौडेललाई दुई साता अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालक्ष्मी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो । त्यस्तै नगरपालिकाका यस अगाडिका प्रमुख प्रशासकीय अधिकृत रुद्रलाल भूसाललाई शुक्रबार नै बिदाइ गरिएको छ । पौडेललाई स्वागत गर्दै नगर प्रमुख श्रेष्ठले नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट नगरपालिकाको सेवा प्रवाह र सुशासन स्थापित गर्न अझ बढि सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
उहाँले अहिले नगरपालिकाको विकास निर्माणको काम धमाधम अघि बढि रहेको अवस्थामा सेवाग्राहीमैत्री भएर सेवा प्रवाह गर्न नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पौडेललाई आग्रह गर्नुभयो ।
नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले संविधान र कानुनको सिमाभित्र रहेर जनप्रनिधिले बनाएको नीति, नियम र कानुनलाई पूर्णरुपमा पालना गर्दै जनप्रनिधि र कर्मचारीसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । काम गर्ने क्रममा सबै पक्षबाट पूर्णरुपमा साथ र सहयोग हुनेमा उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।
पौडेलले स्थानीय निकायदेखि स्थानीय तहसम्मको अभुव हासिल गर्नुभएको छ । मन्त्रालयका अनुसार पौडेल स्थानीय तहका अनुभवी प्रशासकको रुपमा चिनिनुहुन्छ ।
उहाँले अहिलेसम्म स्थानीय तहमा काभ्रेको पनौती नगरपालिका, रुपन्देहिको तिलोत्तमा नगरपालिका, देवदह, काठमाडौँको टोखा, बुढानिलकण्ठ नगरपािलकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कुशल रुपमा सेवा प्रवाह गरिसक्नु भएको छ । त्यस्तै पौडेलले अर्घाखाँचीको स्थानीय विकास अधिकारीको रुपमा काम गरिसक्नु भएको छ । उहाँ तिलोत्तममा प्रमुख प्रशासकीय अधिकृत हुँदा तिलोत्तमा नगरपालिकालाई उत्तकृष्ट नगरपालिकाको रुपमा स्थापित गराउन सफल हुनुभएको थियो । उहाँकै प्रशासनिक नेतृत्वमा रहँदा तिलोत्तमाको नगर प्रमुखको रुपमा रहनु भएको तत्कालिन नगर प्रमुख बासुदेव घिमिरे वर्तमान प्रतिनिधि सभाको सदस्य हुनुहुन्छ । जुनसुकै कार्यालयमा सरुवा भइ गए पनि सेवाग्राहीलाई प्राथमिकता राखेर सेवा प्रवाह गर्ने उहाँको बानी छ ।