रियल म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा

59

म्याड्रिड। सर्वाधिक उपाधि विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको नकआउट चरण पुगेको छ। समूहगत चरणको बुधवारको खेलमा ब्रागालाई ३-० गोलले हराउँदै स्पेनिस क्लब रियल अन्तिम १६ मा पुगेको हो ।

समूहमा अझै २ खेल खेल्न बाँकी रहेको रियल ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको नापोलीको ४ खेलबाट ७ र तेस्रो स्थानको ब्रागाको ४ खेलबाट ३ अंक छ । समूहका शीर्ष दुई टोली नकआउट चरण पुग्नेछन् ।

ब्रागाविरुद्ध रियलका ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगोले एक एक गोल गरे। प्रतियोगितामा रियलले यो सिजन खेलेका सबै खेल जितेको छ ।

जर्मन क्लब बायर्न म्युनिख पनि नकआउट चरण पुग्यो । समूहमा दुई खेल खेल्न बाँकी रहँदै अन्तिम १६ को यात्रा पक्का गरेको बायर्नले बुधबार राती गलासतारेलाई २-१ गोलले हरायो । बायर्नको जितमा दुवै गोल हेरि केनले गरेका थिए ।

केनले ८० र ८६ औँ मिनेटमा गोल गरेका हुन् । समूहमा चार खेलबाट १२ अंक भएको बायर्न शीर्षस्थानमा छ । दोस्रो स्थानको एफसी कोपेनहेगन र तेस्रो स्थानको गलासतारे दुवैको ४ खेलबाट ४ अंक छ ।