काठमाडौंः चालू सिजनमा सोमबार एकै दिन १ सय ७ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । बिगत पाँच दिनमा भएको आरोहणमध्ये सबैभन्दा धेरैले सोमबार आरोहण गर्न सफल भएका हुन् ।
गत साताबाट सुरु भएको आरोहणको क्रममा हालसम्म २ सय ६९ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । जेठ १ बाट सुरु भएको आरोहण मौसमका कारण तीन दिन रोकिएको थियो ।
शनिवारदेखि पुनः आरोहण भइरहेको छ । जसमा शनिबार ४० आरोहीले सफल आरोहण गरेका थिए भने आइतबार ७५ जनाले सगरमाथा आरोहण गरेका छन् ।
- साेमबारसम्म २६९ लाई सफलता
- एक साताभित्र ४ सयले आरोहण गर्दै
- ५ आरोहीको मृत्यु, एक भारतीय बेपत्ता
पाँच दिनमा पौने तीन सयभन्दा बढीले आरोहण गरिसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । “पाँच दिनमध्ये सोमबार सबैभन्दा बढीले आरोहण गरेका छन् भने मंगलबार पनि एक सय हाराहारीले आरोहण गर्नेछन्,” श्रेष्ठले भने । अब एक साताभित्र ४ सयभन्दा बढीले आरोहण गर्ने श्रेष्ठले बताए ।
यसवर्ष नेपाली र विदेशी गरेर ७ सयभन्दा बढी सगरमाथा आरोहणमा छन् । सोमबारसम्म पौने ३ सयले आरोहण गरेर र अब बाँकीले एक साताभित्र आरोहण गरेर फर्कने दावी श्रेष्ठले गरे ।
सगरमाथा आरोहणको मुख्य सिजनमा अब जेठको १५ गतेसम्म मात्र रहेको छ । दुई वर्ष अगाडि अनुमति लिएका तर भूकम्पले हिउँपहिरोका कारण आरोहण रोकिएकाले यस वर्ष उक्त अनुमति लिनेहरू पनि आरोहणमा आएकोले सगरमाथामा चाप रहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।
सोमबार सयभन्दा बढीले आरोहण गरेको र यसअघि सन् २०१२ मा तिब्वत र नेपालतर्फ गरी एकैदिन २ सय ५५ जनाले आरोहण गरेको रेकर्ड रहेको शेर्पाले बताए ।
सन् २०१४ र २०१५ मा भएका ठूला दूर्घटनापछि आरोहण प्रभावित भएको थियो । ती दुई वर्ष आरोहण अनुमति लिएर पनि हिमाल चढ्न नपाएका आरोहीका लागि सरकारले आरोहण अनुमति सन् २०१७ भरका लागि दिएको छ ।
उक्त समयमा अनुमति लिनेहरू पनि यसवर्ष आरोहणका लागि आएका छन् । यस वर्ष अनुमतिबापत सरकारले २० करोड रूपैयाँ हाराहारीमा राजस्व संकलन गरेको छ । प्रत्येक आरोहणमा जाने आरोहीले ११ हजार डलर दस्तुरमार्फत सरकारलाई राजस्व बुझाउने गरेका छन् ।
चालू सिजनमा २५ हिमाल आरोहण गर्न ९१ समूहका ७ सय ३७ जनाले आरोहण अनुमति लिएका छन् । जसमा सगरमाथाको लागि मात्रै ४२ समूहका ३ सय ७३ जनाले आरोहण गर्न अनुमति लिएका छन् । गतवर्ष भने ९८ समूहका ७ सय ४५ जनाले आरोहणका लागि अनुमति लिएका थिए ।
५ आरोहीको मृत्यु, एक भारतीय वेपत्ता
आरोहणको क्रममा यसवर्ष हालसम्म पाँच जनाले ज्यान गुमाइसकेका छन् भने एक भारतीय आरोही बेपत्ता भएका छन् । आइतबार अमेरिकी आरोही रोनाल्ड इयरउड र स्लोभाकियाका आरोही भ्लादिमिर स्ट्रबाको निधन भएको छ ।
यस घटनासहित जारी सिजनमा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने आरोहीको संख्या नेपालतर्फ चार पुगेको छ भने तिब्बततर्फ एकजनाको निधन भएको छ ।
आइतबार तिब्बततर्फबाट सगरमाथा आरोहण गर्ने क्रममा एक अस्टे«लियाली आरोहीको निधन भएको छ । यसअघि सगरमाथाको क्याम्प टु हुँदै नुप्त्से हिमाल आरोहण गर्ने क्रममा चर्चित स्विस आरोही युली स्टेकको १७ वैशाखमा निधन भएको थियो ।
सबैभन्दा वृद्ध उमेरमा सगरमाथाको सफल आरोहण गरी कीर्तिमान बनाउने लक्ष्यसहित त्यसतर्फ लागेका आरोही मीनबहादुर शेरचनको २३ वैशाखमा निधन भएको थियो । ८६ वर्षीय उनको सगरमाथा आधार शिविरमै हृदयाघातका कारण निधन भएको थियो ।
भारतीय आरोही रविकुमार शनिबारदेखि बेपत्ता छन् । पर्यटन विभागका अनुसार सगरमाथाको सफल आरोहण गरी आधार शिविर फर्कने क्रममा उनी बेपत्ता भएका हुन् ।