भक्तपुरमा गुड्यो साझा बस, स्वयम्भूदेखि सूर्यविनायकसम्मको रुट

441

भक्तपुर.यात्रुको सुविधालाई ध्यान दिदैं साझा यातायातले बुधवारदेखि आफ्नो सेवा काठमाडौंको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ । काठमाडौं, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरेको साझा यातायातले बुधवारदेखि भक्तपुरमा पनि आफ्नो सेवा शुरु गरेको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार बिहान छ देखि राति ९ बजेसम्म साझा यातायातले नागरिकलाई उक्त रुटमा सेवा प्रदान गर्नेछ ।

बुधवारदेखि हरेक दिन बिहान ६ बजे स्वयम्भूबाट १० ओटा साझा बस छुट्नेछन् भने त्यसैगरी १० ओटा बस सूर्यविनायकबाट स्वयम्भूतर्फ आउने प्रमुख पाण्डेले जानकारी दिए । स्वयम्भूबाट छुटेको बस कलङ्की, कालीमाटी, रत्नपार्क, पुरानो बसपार्क, थापाथली, माइतीघर, नयाँबानेश्वर, कोटेश्वर, लोकन्थली, कौशलटार, गठ्ठाघर, सल्लाघारी हँुदै सूर्यविनायक पुग्नेछ ।

भक्तपुरमा सञ्चालन गरिएको बस नयाँ नभई हाल अन्य स्थानमा सञ्चालनमा रहेका ४६ ओटा बसबाट नै २० ओटा त्यस रुटमा सञ्चालन गरिने भएको हो । काठमाडौँ उपत्यकाबाहिरका लागि पनि साझा यातायातले अन्य बस सञ्चालन गर्ने तयारी गरिरहेको पनि प्रमुख पाण्डेले जानकारी दिए ।