एचआइभी एड्सको  सवालमा समाजमा अझै नकारात्मक टिप्पणी बाँकी 

76

 

सन्जिब दुलाल

भक्तपुर । एचआइभी एड्सको सवालमा समाजमा अझै नकारात्मक टिप्पणी हुने गरेको सरोकारवालहरूले बताएका छन् ।

विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरले शुक्रवार आयोजित अन्तरक्रिया र ¥यालीमो नेपालमा एचआइभी एड्सको ज्ञान र जनचेतनामा अभिवृद्धि हुँदै गए पनि अझै समुदायमा भने यसको विषयमा नकारात्मक टिप्पणी हुने गरेको सरोकारवालाहरूले बताएका छन् ।

यस्तै कार्यक्रममा एचआइभी एड्स अन्त्यका लागि समुदायको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरूले समुदायसँगको सहकार्यको सुनिश्चितता कायम गर्दै एचआइभी एड्सको कार्यक्रमलाई थप प्रभावकारी बनाउन र सुदृढीकरण गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

अन्तरक्रिया र ¥यालीमा सहभागीहरूले एचआइभी रोकथामका कार्यक्रमहरू नयाँ एचआइभी सङ्क्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहहरूलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पुर्‍याउनुपर्ने बताए ।

कार्यक्रममा विश्व एड्स दिवसको उद्देश्यमाथि स्पष्ट पार्दै स्वास्थ्य कार्यालय भक्तपुरका एचआइभी एड्स फोकल पर्सन भोला पौडेलले समुदायलाई एचआइभी एड्स सम्बन्धी महत्त्वपूर्ण मुद्दामा बहस तथा पैरवी गरी जनचेतना अभिवृद्धि गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो ।

उहाँले भक्तपुरमा एचआइभी एड्सको अवस्थाका बारेमा जानकारी दिँदै चालु आर्थिक वर्ष साउन देखी कार्तिक मसान्तसम्म ६ जना नयाँ सङ्क्रमित पत्ता लागेको बताउनुभयो । “चालु आर्थिक वर्षको साउन यता परीक्षण गरिएका एक हजार ६९० जना मध्ये ६ जनामा एचआइभी सङ्क्रमण देखा परेको छ,” उहाँले भन्नुभयो ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझाले सरकार, विभिन्न सङ्घसंस्था र सरोकारवालाहरूको वर्षै देखीको निरन्तर प्रयासका कारण आज एचआइभी एड्सको भयावह न्यूनीकरण भएको बताउनुभयो । उहाँले यसको अन्त्यको लागि अझै समुदायलाई जागरूक बनाउनु पर्ने र समुदायलाई थप जिम्मेवार बनाउन यस क्षेत्रमा काम गर्दै आइरहेको सङ्घसंस्था र सरकारी निकायको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

यस्तै सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्र शुरुवातका कमला शर्माले सरकारी अनी गैरसरकारी संस्थाहरूको सहयोग र लगानीका कारणले नेपालमा एचआइभी एड्सको ज्ञान र जनचेतनामा अभिवृद्धि भएको बताउनुभएको थियो । उहाँले जस्तो ज्ञान र जनचेतना भए पनि समुदायमा एचआइभीका सवालमा भने नकारात्मक टिप्पणी कायम नै रहेको प्रति दुःख व्यक्त गर्नुभयो । जसका कारण एचआइभी सङ्क्रमित उपचारको दायरामा आउन  नचाहने समेत उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जोखिम क्षेत्रको पहिचान गरी ती समुदायलाई नै एचआइभी एड्सको सङ्क्रमण न्यूनीकरणका लागि परिचालन गर्न सके एचआइभी एड्सको क्षेत्रमा प्रचलित तिनवटा शून्य अर्थात् थ्री जिरोको अवधारणा पुरा गर्न सकिनेमा जोड दिनुभयो ।

उहाँले विभिन्न सङ्घ संस्था र सरकारी निकायको पहलमा एचआइभी एड्सको भयावह अन्त्य गर्न सहयोग पुगेको बताउँदै स्थानीय पालिकाहरूले पनि यस क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरी समुदायमा जनचेतना फैलाएर एचआइभी एड्स सङ्क्रमितलाई हुने अवहेलना अन्त्यको लागि पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले एचआइभी सङ्क्रमितलाई समुदायमा परिचित गराउन सके समुदायमा रहेको नकारात्मक सोच अन्त्य गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा हाम्रो समान पहुँचका ज्योति थापाले रातो रिबन राखिएको विभिन्न ब्यानरहरू, चिह्नहरू अनि प्रवर्द्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्‍याली, भेला, गोष्ठीहरू आयोजना गर्दै एचआइभी एड्सकारबारेमा जनचेतना फैलाउँदै आएको जानकारी दिनुभयो ।

अन्तरक्रियापछि स्वास्थ्य कार्यालय कटुञ्जेदेखी सल्लाघारीचोकसम्म सचेतनामूलक ¥यालीको आयोजना गरिएको थियो । ¥यालीमा एचआइभी एड्सको क्षेत्रमा काम गर्दै आइरहेको विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख तथा कर्मचारीहरू, विभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुखहरू र नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्षसहितका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।