सत्तारुढ गठबन्धनको निष्कर्ष : एनसेल खरिदबिक्री शंकास्पद

34

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निस्कर्ष निकालेको हो ।

बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानून बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था अुनकुल खरिदबिक्री नभएको बताउनुभयो । उहाँले शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निस्कर्ष निस्किएको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिदबिक्रीका बारेमा मन्त्रीपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको बताउनुभयो ।