नगरकोट ।
चाँगुनारायण नगरपालिकाको समन्वय र आइसेट नेपाल तथा डिसिएको आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएकोछ ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न २ दिने कार्यशालामा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, आइसेट नेपालका कार्यकारी निर्देशक कन्चनमणि दिक्षित, डिपिनेट नेपालका कार्यबहाक अध्यक्ष डा.राजु थापा, परामर्शदाता सुरेश भट्टराई, डिसिए नेपालका कार्यक्रम व्यवस्थापक दिनेश गुरुङ्ग, वडा नं २,५,६,७ र ८ का वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखा प्रमुख तथा प्रतिनिधिहरु, आइसेट नेपालका कर्मचारीहरु गरी ३२ जनाको उपस्थिती रहेको थियो ।
कार्यशालाको उद्घाटन गर्नुहुदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनको लागि नगरपालिकाले आफ्नै ऐन, नीति, नियम, कार्यविधि र योजनाहरु बनाई विपद् जोखिम न्यूनीकरण सम्बन्धि विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गर्दै आएको बताउनुभयो ।
यस आर्थिक वर्षमा नगरपालिकाले विपद् व्यवस्थापनको लागि ३ करोड ६५ लाख ५० हजार बजेट बिनियोजन गरेका जानकारी दिनुहुदै नगर प्रमुख खत्रीले नगरपालिकाले विपद् व्यवस्थापनका लागि छुट्टै शाखाको व्यवस्था गरी सरकारी तथा गैह्र सरकारी निकायहरुसंगको सहकार्य र साझेदारीमा समेत कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो ।
उहाँले यस प्रकारको बार्षिक रुपमा गरीने विपद् जोखिम मूल्यांकन कार्यले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा पुरा गर्नुपर्ने मापदण्ड र क्षमता अभिवृद्धिको लागि मार्गदर्शन गर्ने बताउनुभयो ।
नगर उपप्रमुख रमेश बुढाथोकीले विपद्को समयमा सर्वप्रथमे समुदायका मानिसनै परिचालित हुने भएकाले नगरपालिकाले समुदायमा प्रथम उद्धारकर्ता तयार गरीे विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार वडास्तरमा कृत्रिम घटना अभ्यास गरेर समुदायलाई सम्भावित विपद्संग सामना गर्नको लागि सक्षम बनाउने बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले वार्षिक रुपमा विपद् सम्बन्धी योजनाहरु अद्यावधिक गर्दै नगरपालिकाको नयाँ भवनमा स्थानीय आपत्कालिन कार्य सञ्चालन केन्द्र तथा विपद् सिकाइ केन्द्र स्थापना गरीने बताउनुभयो ।
नगरपालिकाका विपद् सम्पर्क व्यक्ति तथा योजना शाखा प्रमुख अनुप लामिछानेले यस आर्थिक वर्षमा चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना, स्थानीय विपद् उत्थानशील कार्यढाँचा, समुदायमा प्राथमीक उपचार तथा खोज उद्धारका स्वयंसेवक तयार गर्ने लगायतका बिबिध गतिविधिहरु संचालन गरीने बताउनु भयो ।
आइसेट नेपालका कार्यकारी निर्देशक कंचनमणि दिक्षितले सन् २०२२ मा पनि चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मूल्यांकन गरेको जानकारी गराउनुहुदै यस वर्ष नगरपालिकासंगको साझेदारीमा संचालित नेक्सस परियोजना मार्फत संचालित गतिविधिहरु र नगरपालिकाले आफ्नै पहलमा तय गरेका विपद् जोखिम न्यूनीकरणका गतिविधिहरुका कारण उल्लेख्य प्रगती गरेको बताउनु भयो ।
उहाँले नेक्सस परियोजना मार्फत चाँगुननारायण नगरपालिकासंग विपद् व्यवस्थापनको क्षेत्रमा सहकार्य गर्न पाएकोमा नगरपालिका प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
कार्यशालामा डिसिए नेपालका कार्यक्रम व्यवस्थापक दिनेश गुरुङ्गले जाजरकोट भूकम्पमा डिसिएले गरेको प्रतिकार्य लगायत भूकम्पकीय जोखिमको परिदृष्यमा हैटी, चिलि र गोर्खा भूकम्पका बीच भएका भिन्नता र उत्थानशील समुदाय निर्माणको महत्वका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यशालामा जाजरकोट भुकम्पको पृष्ठभुमी तथा विपद प्रतिकार्यबारे चाँगुनारायण नगरपालिकाको अवस्था विश्लेषण तथा नमुना अभ्यास कार्य पनि गरीएको थियो । विभिन्न समुह बनाएर गरिएको उक्त नमूना अभ्यासमा सहभागिहरुको सक्रिया सहभागिता रहेको थियो ।
चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ एवं परामर्शदाता दिनेश थापाले नगरपालिको विपद जोखिम व्यवस्थापन सम्बन्धी योजना तथा हाल सम्मका प्रगतीका बारेको प्रस्तुतीकरण गर्नुभएको थियो ।
परार्मदाता सुरेश भट्टराईले प्र्रकोप जोखिम न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघ कार्यालयले शहरहरुका लागि तयार गरेको विपद् उत्थानशीलता स्कोर माथिको प्रस्तुतीकरण गर्नु भएको थियो भने उहाँले अघिल्लो वर्ष चाँगुनारायण नगरपालिकाले प्राप्त गरेको अंकभार र पुरा गरेका मापदण्डको बारेमा पुनरावलोकन गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण स्कोर कार्ड प्रणाली विपद् जोखिम न्यूनीकरण कार्यक्रमको लागि राष्ट्रसंघले तयार पारेको हो । यो संयुक्त राष्ट्रसंघ सचिवालयको एक अंग हो । यसले सेन्डाई ढाँचा अनुरुप विपद् जोखिम न्यूनीकरण कार्यक्रम लागू गर्न र पूनरावलोकन गर्न सहयोग गर्दछ ।
सेन्डाई ढाँचाको चार मुख्य प्राथमिकताहरु यसमा समावेश गरीएको छ । यो स्कोर कार्ड प्रणाली अन्तर्गत पालिकाहरुको विपद् जोखिम मुल्यांकन गर्न दश आवश्यकताहरु तोकिएका छन् जस अन्तर्गत दश आवश्यकताहरु निम्नानुसार छन् । आवश्यकता १ः उत्थानशीलताका लागि संगठन र ढाँचा, आवश्यकता २ः वर्तमान र भविष्यका जोखिम परिदृश्यहरुको पहिचान, बुझाई र प्रयोग, आवश्यकता ३ः उत्थानशीलताको लागि वित्तीय क्षमता सुदृढिकरण, आवश्यकता ४ः उत्थानशील सहरी विकास र ढांचा, आवश्यकता ५ः राष्ट्रिय मध्यबर्ती क्षेत्रको सुरक्षाको लागि प्राकृतिक पारिस्तिथिक प्रणालीद्वारा गरिने संरक्षणात्मक कार्यहरु, आवश्यकता ६ः उत्थानशीलताको लागि संस्थागत क्षमता बलियो बनाउने, आवश्यकता ७ः उत्थानशीलताको लागि सामाजिक क्षमतालाई बुझ्नुहोस् र बलियो बनाउनुहोस् ,आवश्यकता ८ः उत्थानशील पूर्वाधारमा वृद्धि, आवश्यकता ९ः प्रभावकारी प्रकोप प्रतिकार्य सुनिश्चित गर्ने, आवश्यकता १०ः छिटो र बलियो पुनर्लाभ पर्दछन् । जसमा रहेर कार्यशालामा विभिन्न प्रश्नहरु सोधिए थिए र सहभागिहरुबाट आएका उत्तरका आधारमा ० देखि ३ अंक सम्म प्रदान गरीएको थियो ।
अन्त्यमा डिपिनेटका का.वा अध्यक्ष डा.राजु थापाले चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनीकरण पूर्व तयारीमा सन्तोषजनक अवस्था भए पनि देशका अन्य नगरपालिकाहरुको तुलनामा विपद जोखिम न्यूनीकरण सम्बन्धि प्रशस्त दस्तवेजहरु तयार गरेको र विपद जोखिम न्यूनीकरणको क्षेत्रमा धेरैनै कार्यहरु गरेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले चाँगुनारायण नगरपालिकाको विपद उत्थानशील क्षमता विश्लेषण पुनरावलोकन तथा योजनामा विपद व्यवस्थापन मुलप्रवाहीकरणका विषयमा सहभागिहरु माझ छलफल गरी आवश्यक थप गतिविधिहरुका विषयमा सुझाव दिनु भएको थियो । नगरकोटको होटेल मिस्टिक माउण्टेनमा २ दिन सम्म संचालित कार्यशालामा आइसेट नेपालका कार्यक्रम व्यवस्थापक केशब मलाशी र फिल्ड अधिकृत भरत ढुंगानाले सहजिकरण गर्नु भएको थियो ।