काठमाडौ : हमास र इजरायलबीचको ३० वर्ष लामो संघर्षमा मारिएका पत्रकारको संख्या भन्दा यसवर्ष मारिएका पत्रकारको संख्या बढी रहेको प्रतिवेदन सार्वजनिक भएको छ।
पत्रकारहरूको संगठन इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट (आइएफजे)को पछिल्लो प्रतिवेदनमा पत्रकारहरूको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ।
डिसेम्बर-८ मा आइएफजे ले जारी गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभर ९४ जना पत्रकारले ज्यान गुमाएका छन्। आईएफजेले आफ्नो वार्षिक प्रतिवेदनमा यो वर्ष विश्वभर ४०० भन्दा बढी पत्रकार जेल परेको पनि जनाएको छ।
इजरायली सेनाले हमासविरुद्धको कारबाही जारी राखेको गाजा पट्टीमा मारिएका अधिकांश प्यालेस्टिनी पत्रकार थिए। संगठनले भन्यो, ‘आईएफजेले सन् १९९० देखि कारबाहीमा मारिएका पत्रकारहरूको रेकर्ड राख्दै आएको छ र कुनै युद्धमा यति धेरै पत्रकार मारिएको कहिल्यै देखेको छैन।’
त्यस्तै, अफ्रिका पत्रकारहरूका लागि सबैभन्दा सुरक्षित महादेश साबित भएको छ। तर आइएफजेले क्यामरुन र लेसोथोमा तीन पत्रकारको हत्याको विशेष उल्लेख गर्दै अहिलेसम्म यी घटनाहरूको अनुसन्धान नभएको बताएको छ।
हाल यस वर्ष पक्राउ परेका ३९३ पत्रकार जेलमा छन्। तीमध्ये अधिकांश चीन र हङकङमा छन्, जहाँ ८० पत्रकार पक्राउ परेका छन्। म्यानमारमा ५४, टर्कीमा ४१, रुस र क्रिमियामा ४०, बेलारुसमा ३५ र इजिप्टमा २३ जना पत्रकार पक्राउ परेका छन्।