आन्दोलन या निर्वाचन भन्नेबारे राजपामा विवाद

419

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पार्टीभित्रै दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जाने या बहिष्कार गरी आन्दोलन घोषणा गर्ने भन्नेमा विवाद देखिएको छ । नेताहरूबीच दुईवटा बाटामध्ये कुन भन्ने विषयमा एकजुट हुन नसकेपछि बुधबार बसेको अध्यक्ष मण्डलको बैठक विनानिष्कर्ष सकिएको छ ।

पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कसरी अगाडि बढ्ने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भइरहेको तर कुनै निष्कर्ष ननिस्किएको जानकारी दिए । ‘पार्टी कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भइरहेको छ, कुनै निष्कर्ष निस्किएको छैन,’ महतोले नयाँ पत्रिकासँग भने ‘पुनः बिहीबार बिहान ११ बजे अध्यक्ष मण्डलको बैठक बसेर एउटा ठोस धारणा बनाउने प्रयास गर्नेछौँ । आन्दोलनमा जानुपर्छ भन्ने दबाब भए पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचनमा जानुपर्छ भन्ने धारणा पनि नेताहरूमा देखिएको छ ।’

अध्यक्षमण्डलमै मत विभाजित
अध्यक्ष मण्डलका केही सदस्य प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आफ्नो जनाधार बलियो बनाएर थप माग पूरा गर्न दबाब दिन निर्वाचनमा जानुपर्ने धारणा राखिरहेका छन् । केही सदस्य आफूहरूले उठाएका सबै माग पूरा नहुँदै निर्वाचनमा जान नहुने पक्षमा देखिएका छन् । बैठक स्रोतका अनुसार अध्यक्ष मण्डलको बैठकमा सदस्यद्वय सरतसिंह भण्डारी र महेन्द्र राययादवले ‘ग्राउन्ड रियालिटी’ जोगाई थप सशक्त भएर बाँकी माग पूरा गराउन दबाब दिन निर्वाचनमा जानुपर्ने बताएका छन् । सदस्य राजकिशोर यादवले निर्वाचनमा जान नहुने, तत्काल आन्दोलन घोषणा गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । राजेन्द्र महतो एक साता आन्दोलन घोषणा गर्ने र आन्दोलनका कार्यक्रम अघि बढाएर पछि सहमति गर्दै निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा देखिन्छन् । अध्यक्ष मण्डलको नेतृत्व गरिरहेका महन्थ ठाकुर र अनिल झाले आफ्नो स्पष्ट धारणा राखेका छैनन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष अहिलेको निर्वाचनमा जानै नहुने तर्क गरिरहेका छन् । ‘हामीले राखेको एउटा माग पूरा गर्ने कोसिस सरकारले गर्यो तर हामीसँग २२ हजार जनसंख्या भएकामा गाउँपालिका र ३१ हजार जनसंख्या पुर्याएर नगरपालिका बनाउन भएको सहमति स्थानीय तह थप्दा कार्यान्वयन भएको छैन । अहिले थपिएको स्थानीय तह जनसंख्याको सिद्धान्तअनुरूप पनि छैन ।’ त्रिपाठीले नयाँ पत्रिकासँग भने, ‘अन्य हामीले राखेका माग पूरा गर्ने प्रक्रियासमेत सुरु नभएकाले निर्वाचनमा सहभागी हुने वातावरण बनेको छैन । निर्वाचनमा सहभागी हुनुहुन्न भन्ने मेरो धारणा हो ।’ तर, अन्य दोस्रो तहका नेताहरू सर्वेन्द्रनाथ शुक्ल, केशव झा, मनीष सुमनलगायतले थप जनमत ल्याएर अन्य माग पूरा गर्न दबाब दिन निर्वाचनमा जानुपर्ने धारणा राख्दै आएका छन् ।

आन्दोलनप्रति पार्टीमै शंका
आन्दोलन घोषणा गछाैँ भनेर धम्की दिए पनि नेताहरू आन्दोलन प्रभावकारी हुनेमा आफूहरू नै निश्चिन्त छैनन् । पहिलाको जस्तो मधेसको जनमत सबै आफूहरूतिर नभएकाले पनि कतै आन्दोलन असफल भएर माग पूरा गर्न झन् गाह्रो हुने हो कि भन्ने चिन्ता राजपा नेपालका नेताहरूमा देखिन्छ । यसभन्दा अघिका आन्दोलनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पनि सहभागी भएकाले सफल भएको र अहिले यादव र गच्छदार नेतृत्वका पार्टी निर्वाचनमा होमिएकाले आन्दोलन सफल हुन गाह्रो हुने बुझाइ उनीहरूमा छ । राजपा महासचिव केशव झा अबको आन्दोलनमा मधेसी–मधेसीबीच झडप हुने स्थिति रहेकाले निर्वानचन बिथोल्न गाह्रो पर्ने बताउँछन् । ‘पहिला मधेस पूरै आन्दोलन गर्नुपर्छ भन्नेमा एकमत थियो । तर, अहिले त्यो अवस्था छैन । यसअघिका हाम्रा सहयात्री संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम निर्वाचनमा जाने भन्दै चुनावको प्रचारप्रसारमा छन्,’ झाले नयाँ पत्रिकासँग भने, ‘हामीले उनीहरूको प्रचारप्रसारलाई अवरोध गर्याैँ भने पहिला झडप उनीहरूसँगै हुन्छ । हामीलाई बहुमत पुग्न नदिन लागिरहेका राप्रपा र एमाले पनि हाम्रा विरुद्ध लाग्ने पक्का छ । त्यसैले निर्वाचन बिथोल्न हामीलाई गाह्रो पर्छ ।’nayapatrika