यस वर्ष २ हजार हाजीको आवेदन

488

काठमाडौं ,

हाजीलाई रमजान पर्वपछि साउदी लैजान नेपाल हज कमिटीले तयारी थालेको छ । साउदी जान विभिन्न जिल्लाबाट हाजीहरूले फर्म भरिसकेका छन् । ती फर्म संकलन भइसकेकाले रमजानपछि साउदी अरब लैजाने तयारी गरिएको हज कमिटीका अध्यक्ष मोहम्मद सोएबले बताए ।

बुधबार बसेको हज कमिटीको बैठकले हज यात्रीका लागि हवाई टिकट व्यवस्था बोलपत्र सूचना आह्वान गर्ने निर्णय गरेको नेपाल हज कमिटीले जनाएको छ । त्यस्तै यस वर्ष जाने हाजीहरूको नाम छनोट गर्नेसमेत निर्णय गरेको हज कमिटीको भनाइ छ ।

यस वर्ष हजका लागि २९ जिल्लाबाट लगभग २ हजारको आवेदन परेको नेपाल हज कमिटीका अध्यक्ष महम्मद सोएबले बताए । उनका अनुसार सबैभन्दा बढी कपिलवस्तुबाट ३ सय ४१ जनाले आवेदन दिएका छन् ।

यसैगरी, रुपन्दही ३ सय १५, रौतहट २ सय ११, सुनसरी २ सय ५१, सप्तरी १ सय २३, सुर्खेत ३, मकवानपुर २, स्याङ्जा ९, पर्वत २, कैलाली २, चितवन २, कास्की ४, पाल्पा ५, तनहुँ १२, दाङ ८ बर्दिया ८, नवलपरासी ३३, गोर्खा १३, काठमाडौं ५९, सर्लाही २९, झापा १२, पर्सा ३५, धनुषा ३६, मोरङ ५६, बाँके २०१, बारा ५६ लगायत २९ जिल्लाबाट हाजीहरूले आवेदन दिएका छन् ।

१२ सय मात्रै जान पाउने
आवेदन दिएका हाजीमध्ये यस वर्ष १२ सय मात्रै साउदी अरबको मक्का जान पाउने छन् । साउदीले १२ सयलाई हज गर्न जाने अनुमति दिएको छ । आवेदन दिनेको संख्या बढी भएकाले अनुमतिको संख्या अझै बढाउन पहल भइरहेको हज कमिटीका अध्यक्ष सोएबको भनाइ छ ।
हाजीको काम छिटोछरितोसँग गर्न बुधबार हज कमिटीको दोस्रो बैठक बसेको थियो । बैठले सात सदस्यीय कार्यकारिणी समितिसमेत गठन गरेको छ ।