भक्तपुर । भक्तपुरको वाल्मिकी आधारभूत विद्यालयको स्वर्ण जयन्ती शुक्रबार सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ७ वागेश्वरीमा रहेको सो विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्वर्ण जयन्तीको उद्घाटन बागमती प्रदेशका प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष श्यामकृष्ण नयाँजु र वडा नंं ८ का वडा अध्यक्ष एवम् चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता जनक खत्रीलगायतले गरेका थिए ।
सो क्रममा विद्यालयले विद्यालयका संस्थापकसहित विद्यालयका पूर्व प्रधानाध्यापक तथा विद्यालयमा हाल कार्यरत शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठले सामुदायिक विद्यालय सुधारका लागि स्वयम् शिक्षकहरु नै लाग्नुपर्ने सुझाव दिए ।
उनले सरकारी विद्यालयमा अध्यापनरत शिक्षकहरुले आफूले अध्यापन गराएका विद्यालयमा विद्यार्थी अध्यापन गराएमात्र अभिभावकको मन जित्न सकिने उल्लेख गर्दै शिक्षकहरुलाई आफ्ना सन्तान सरकारीमा पढाउन अनुरोध गरे । उनले सामुदायिक विद्यालय सुरुवात नै शिक्षकबाट गर्नुपर्ने भएकाले गुणस्तरीय शिक्षा दिनका लागि शिक्षकले अल्छी गर्न नहुनेमा जोड दिए ।
सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि अभिभावकको समेत महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले अभिभावकले आफ्ना सन्तानलाई विद्यालयमा पठाएर भर्ना गरेरमात्र कर्तव्य पूरा नहुने उल्लेख गरे । उनले आफ्ना सन्तानको पढाइबारे अभिभावकले चासो राख्नुपर्नेमा जोड दिए ।
उनले अहिलेको समयमा सूचना प्रविधिको उचित र सही प्रयोग गराउन सके विद्यार्थीहरु मोबाइलको लतमा नफस्ने जनाउँदै सोही अनुसारको शिक्षा दिने काम विद्यालयले गर्न सके अभिभावकको मन जित्न सकिने बताए ।
सो अवसरमा चाँगुनारायण नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता जनक खत्रीले चाँगुनारायण नगरपालिकाले नगरको शिक्षाको सुधारका लागि खाजा रकममा वृद्धि गरेको र शिक्षक अभाव टार्नका लागि नगर अनुदान शिक्षकको बन्दोबस्त गरेको उल्लेख गरे ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष श्याम नायजुले सामुदायिक विद्यालयमा स्थानीय अभिभावको चासो घ्टदै गएकोमा चिन्ता व्यक्त गरे । उनले आफ्नो स्थानीय क्षेत्रमा रहेको सामुदायिक विद्यालयको स्तर बढाउनका लागि स्वयम् स्थानीय नै अघि सर्नुपर्नेमा विभिन्न बहाना गरी स्थानीय सो स्कूलबाट टाढिनु विडम्बनाको विषय रहेको उल्लेख गरे ।
वड अध्यक्ष नायजूले विद्यालयको विकास र शैक्षिक गुणस्तरका लािग वडा तथा नगरपालिका तहबाट हुने सबै प्रकारको सहयोग रहने प्रतिवद्धता जनाए ।
सोही अवसरमा पूर्व वडा अध्यक्ष ज्ञानबहादुर केसीले विद्यालयको भौतिक सुधारका लागि नगरपालिकाले विशेष सहयोग गर्नुपर्ने माग गरे । कार्यक्रममा चाँगुनारायण नगर शिक्षा शाखाका अधिकृत रञ्जना सापकोटा, नेपाल शिक्षक महासंघ भक्तपुरका अध्यक्ष सहदेव साखकर्मी, पूर्व प्रअ दीनानाथ श्रेष्ठ, गणेश मावि, ताथलीका प्रधानाध्यापक इन्जकुमार बास्तोलालगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अध्यापनरत शिक्षकहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमन्त सिटौलाले विद्यालयको भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो विद्यालय वि.सं. २०३० सालमा वागेश्वरीको गुरुङटारमा स्थापना गरिएको थियो । हाल विद्यालयका बालविकास तहमा ५२, कक्षा १ देखि कक्षा ८ सम्म ७३ गरी १२५ विद्यार्थी अध्ययनरत छन् भने १४ शिक्षक र २ कर्मचारी रहेका छन् ।