‘नीति-कार्यक्रममा पुरानै योजनाको निरन्तरता’

434

संसद्‍मा बिहीबार प्रस्तुत गर्न लागिएको कामचलाउ सरकारको नीति तथा कार्यक्रममा कुनै लोकप्रिय कार्यक्रम समावेश नगरिएको सरकारका प्रवक्ताले बताएका छन्।

उक्त कार्यक्रममा संविधान कार्यान्वयन र विकासका मुख्य कार्यक्रमहरुलाई नै निरन्तरता दिइएको बताइएको छ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह बस्ने संसद बैठकमा आर्थिक वर्ष २०७४-७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्।

निर्वाचन आचारसंहिता

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनबीचमा प्रस्तुत हुन लागेकोले उक्त नीति तथा कार्यक्रममा चुनावलाई प्रभाव पार्न सक्ने खालको लोकप्रिय कुनै नयाँ कार्यक्रमहरु नराखिएको कामचलाउ सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।

उनले भने, “संविधान कार्यान्वयनलाई पूर्णता दिने र यसका लागि आवश्यक सबै निर्वाचनहरुसँग सम्बन्धित कुराहरुलाई त सम्बोधन गर्ने कुरा भइहाल्यो। अनि राष्ट्रिय महत्वका परियोजनाहरु निरन्तरता दिने र पुनर्निर्माणको कामलाई तीव्रता दिने काम हुन्छ।”

यद्यपि नीति तथा कार्यक्रममा विपक्षीहरुको समेत सहमति भएको कामचलाउ प्रधानमन्त्रीका आर्थिक सल्लाहकार श्रीराम पौडेलले बताएका छन्।

 

‘सहमति’

पौडेलले भने, “सहमति गर्दै जाने, वातावरण बनाउँदै जाने हो। अब निर्वाचनका लागि पनि वातावरण बनाउनुपर्यो। त्यसैले सहमति अनुसार नै कार्यक्रम आँउछ।”

राष्ट्रपति

लगातार दुई दिन संसद अवरोध भएका कारण संसदमा नीति तथा कार्यक्रममा भने छलफल हुन सकेको थिएन।

राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका आधारमा सरकारले यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ।bbc