भक्तपुरको भातेढिकुरमा बसको ठक्करबाट मोटरसाइकल सवार ३ जना घाइते

1627

भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ स्थित भातेढिकुरमा नोबल एकेडेमीको बसको ठक्करबाट मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् । सुर्यबिनायकबाट साँगातिर जाँदै गरेको बा२क २७३२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर किशोर ढुंगानाले बताए ।

नोबल एकेडेमी काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित छ । दुर्घटनामा परेर मोटरसाइकल चालक श्रीकृष्ण कपाली, उनकी पत्नी प्रिया कपाली र छोरा प्रशन्न कपाली घाइते भएका छन् । घाइतेहरुको डा इवामुरा अस्पतालमा उपचार हुँदैछ । बसले बा ३६ प २२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा संलग्न बसका चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ घर भएका ३१ वर्षीय राजकुमार रोम्बालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको इन्स्पेक्टर ढुंगानाले बताए ।