भक्तपुर टेबुल टेनिस समितिको अध्यक्षमा इन्द्र भक्त पंच 

103
भक्तपुर । भक्तपुर टेबुल टेनिस समितिको अध्यक्षमा इन्द्र भक्त पंच सर्वसम्मत हुनुभएको छ । पंच सँगै समितिका लागि मुना बासुकला, रिजन गोथे, पल्पसा प्रजापति, अन्जु सुवाल, कृष्ण गोविन्द शिल्पकार र रविन साँध गरी ७ सदस्यीय भक्तपुर नगर टेबुल टेनिस समिति गठन भएको हो । भक्तपुर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष एवं भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको उपस्थितिमा नगर टेबुल टेनिस समिति गठन भएको हो ।
सो अवसरमा खत्रीले भक्तपुर नगरपालिकाले टेबुल टेनिस लगायत अन्य विभिन्न खेलकुदको प्रशिक्षण सञ्चालन गरी रहेको जानकारी गराउँदै विद्यालय स्तरमै खेलाडी तयार गर्ने हेतुले भक्तपुर नगरपालिकाले नगर स्तरीय विद्यालय व्यापी विभिन्न १६ खेलका प्रतियोगिताहरू सञ्चालन गर्नुका साथै भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष कुनै एक खेलमा नगरपालिका व्यापी खेलकुद प्रतियोगिता पनि गर्दै आइरहेको जानकारी गराउनु भयो ।
साथै उहाँले नगरपालिकाले आयोजना गरिने खेलकुद प्रतियोगिता सञ्चालन गर्दा नगर स्तरीय खेल सँग सम्बन्धित समिति सँगको सम्बन्वयमा गर्दा नगरपालिकालाई सहज भएको कुरा बताउँदै यस नगर स्तरीय टेबुल टेनिस समितिको माध्यमबाट थप टेबुल टेनिस खेल विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नु भयो ।
 कार्यक्रममा सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले भक्तपुरमा टेबुल टेनिस सङ्घ गठनको इतिहास र सङ्घले गरिरहेको विभिन्न गतिविधिहरूबारे जानकारी गराउँदै नगर समिति र जिल्ला सङ्घ मिलेर आगामी दिनमा जिल्ला स्तरीय देखि राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराउनु भयो ।
 त्यसै गरी अखिल नेपाल टेबुल टेनिस सङ्घको विधान मस्यौदा समितिका सदस्य श्री शिव सुन्दर गोथेले राष्ट्रिय खेलकुद परिषद् बागमती प्रदेशको विधान बमोजिम नगर,जिल्ला, प्रदेश हुँदै केन्द्रीय सङ्घ गठन गर्ने प्रक्रियाबारे जानकारी गराउन् भयो ।