गरिब, असहाय, विपन्न बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोगार्थ फेस पेन्टिङ

45

हेटौंडा । गरिब, असहाय, विपन्न बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोगार्थ फेस पेन्टिङ मार्फत सहयोग संकलनमा युवाहरू जुटेका छन् ।

हेटौंडाको टिसिएन चौरमा खेलकुद तथा व्यापार महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा करिव २६० वटा स्टल रहेका छन् । जसमध्ये ‘ए वान स्टल’ फेश पेन्टिङ पनि महोत्सवको स्टलमा रहेको छ ।

खेलकुद क्षेत्रको विकासको लागि आयोजना गरेको खेलकुद तथा व्यापार महोत्सवमा फेश पेन्टिङले पनि गरिब, असहाय, विपन्न बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गर्ने रहेको छ । मकवानपुर रिकभरिङ समूह र हाँसेको इन्देणी नामक संस्थाको संयुक्त आयोजनामा महोत्सवमा शैक्षिक सामग्री सहयोगार्थ फेश पेन्टिङ स्टलमा राखिएको छ ।

‘मकवानपुर रिकभरिङ समूह र हाँसेको इन्देणीका भोलेन्टरहरुले अनुहारमा पेन्टिङ गर्दिनु भइरहेको छ।’ समूहका प्रबन्ध निर्देशक सन्दिप शाक्यले भने –‘स्वइच्छा रुपमा फेश पेन्टिङ गर्नुभएकाले कसैले ५ रुपैयाँ त कसैले ५ सय रुपैयाँ दिनुहुन्छ । दिनमा ५ सय देखि ६ सय जनाले अनुहारमा पेन्टिङ गर्नुहुन्छ ।’

‘ब्यानरमा राक्सिराङ क्षेत्रलाई शैक्षिक सामग्री सहयोग गर्ने भनेर लेखिएता पनि कुन क्षेत्रमा सहयोग गर्ने भनेर टुङ्गो लागिसकेको छैन । महोत्सव सकेपछि कुन ठाउँमा वितरण गर्ने भनेर समिक्षा गर्ने छौँ ।’ उनले भने ।