‘कोटेश्वर व्यवसायी संघ’ को १८ औं स्थापना दिवसमा रक्तदान र न्यानो लुगा हस्तान्तरण

43

काठमाण्डौ । कोटेश्वरमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको साझा संस्था कोटेश्वर व्यवसायी संघ स्थापना भएको १७ वर्ष पुरा भएको छ ।
संघको १८ औं स्थापना दिवसको अवसरमा सामुदायिक प्रहरी कोटेश्वर तथा सामाुदायिक सेवा तथा विकास संस्थाको सहयोगमा संघले कोटेश्वर चोकमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलन गर्नुको साथै जाजरकोट भुकम्प पीडितहरुको लागि संकलन गरिएको न्यानो लुगा हस्तान्तरण पनि गरियो ।


संघका उपाध्यक्ष निलप्रसाद घिमीरेसहित ३२ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई नेपाल स्वयसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयमसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाणपत्र वितरण गरे ।
बागमती प्रदेशका सांसद सुनिल केसीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं ३२ का अध्यक्ष नवराज पराजुली, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की, सरस्वती क्लवका अध्यक्ष शिक्षित पराजुली, नेपाल स्वयसेवी रक्तदाता समाज चन्द्रागिरी नगर समितिका अध्यक्ष तथा कोटेश्वर व्यवसायी संघका पुर्व अध्यक्ष सरोज थापा, संघका निवर्तमान अध्यक्ष बिकास श्रेष्ठ, पुर्व अध्यक्ष हरिशरण पाठक, संस्थापक अध्यक्ष अच्युत लामिछाने, महानगर प्रहरीका डिएसपि शिवलाल पौडल, नेपाल स्वयसेवी रक्तदाता समाज झापाका अध्यक्ष सीताराम खतिवडा, सामुदायीक प्रहरी सेवा कोटेश्वरकी इन्चार्ज प्रहरी सहायक निरीक्षक तारा खत्री लगायतले संघको प्रगतीको लागि शुभकामना दिए ।
संघका अध्यक्ष गोरख बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघले जाजरकोट भूकम्प पीडितहरुको लागि कोटेश्वरका व्यवसायीहरुसंग संकलन गरेको न्यानो कपडा पनि सो अध्यक्ष थापाले किवानीज क्लवका केन्द्रीय सचिव युवराज न्यौपाने र जाजरकोटका खिमबहादुर शाहीलाई हस्तान्तरण गरे । संकलित न्यानो लुगा शाही र न्यौपानेले जाजारकोटमा लगेर वितरण गर्ने जिम्मेवारी लिएको संघका उपाध्यक्ष निलप्रसाद घिमीरेले बताएका छन् ।


‘कोटेश्वरको ब्युटी, हामी सबैको ड्युटी’ भन्ने नाराका साथ कोटेश्वरको सरसफाई लगायत व्यवसायीक हीत र सामाजिक कार्यमा सकृयरुपमा सहभागी हुँदै आएको कोटेश्वर व्यवसायी संघमा ६५० सदस्य रहेको अध्यक्ष गोरख बहादुर थापाले बताए ।