प्रचण्डले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने हैसियत काँग्रेससँग छ : गगन थापा

63

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी दिएका छन् ।

शनिबार भक्तपुरमा कांग्रेस भक्तपुर(२ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै थापाले उनले प्रचण्डले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरे ।

उनले कांग्रेसले चाहेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताए । उनले कांग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गरे । उनले बालकुमारीमा बिहीबार भएको घटनाप्रति दुःख व्यक्त गरे ।

उनले भने, ‘अहिले नेपाली कांग्रेस पार्टी छैन भन्ने कल्पना गरे भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ । कि धार्मिक, कि जातीय, कुनै न कुनै अतिवादमा पर्छ । कांग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । अहिले फेरि हामीले जिम्मा पाएका छौँ । यो बेला हामीले काम गर्नुपर्छ । प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ । आजको समस्याको चर्चा जुन भयो, त्यसको सम्बोधन कसले गर्ने त , आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो । बालकुमारीमा जुन घटना भयो त्यो दुःखद घटना हो ।’


महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले यसबारेमा आफूले महासमितिको बैठकमा प्रस्ताव गर्ने र सो प्रस्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूसँग आग्रह गरे उनले राष्ट्रिय सभा सदस्य मनोनयन गर्न लामो छलफल गरे पनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुङ्गो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘एउटा पार्टी भित्रको निर्वाचन हामीलाई लाग्दो रहेछ, अर्को पार्टी बाहिरको लाग्दो रहेछ । यहाँ आउँदा अहिले पनि म ४ जना मानिस भेटेर आएको हो । एक जना २०१४ सालमा नेपाली कांग्रेसको सदस्यता लिनुभएको रहेछ । राष्ट्रिय सभामा मैले मौका पाउनुपर्‍यो भनेर मलाई भन्न आउनुभयो ।

अहिले यसो हेरेको राष्ट्रिय सभाको नौ जना उम्मेदवार बनाउनु छ । प्रदेशलाई जिम्मा दिएर पठायो, प्रदेशलाई तीन जना छान भनेर पठाएको, प्रत्येक प्रदेशले ३ सय जनाको नाम पठाएको छ । २१ सय मानिसको नाम छ । काँटछाँट गर्दा हजार पुग्छन् । सभापतिजीले कोटको खल्तीमा पहिल्यै नाम राखिरहनुभएको छ ।

छलफल हुन्छ, हुन्छ सभापतिले कोटको खल्तीबाट ढ्याप्प नाम निकाल्नुहुन्छ । टाउको गन्ने हो । यति जना मान्छे छ, सभापतिज्यूले भनेपछि धन्यवाद भने भइहाल्छ । अहिलेको सभापति मात्रै होइन, यो भन्दा पहिला स्व। सभापति सुशील कोइरालाको पालामा पनि त्यही हो, म भए पनि त्यही हो ।

अन्तिममा सभापतिले कोटको खल्तीबाट निकाल्ने हो । सभापतिले निकाल्न बाँकी भएको सभापतिसँग लड्नुभएको छाया सभापतिले निकाल्नुहुन्छ । ८ लाख ७० हजार क्रियासिल सदस्यलाई कसरी न्याय दिने । मौका त सबैलाई दिनुपर्छ । महासमिति बैठकमा म प्रस्ताव गर्छु, त्यसमा छलफल गरौँ ।’