काठमाडौं । उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिप्रति असन्तुष्ट नेपाल बार एसोसिएसनले न्याय परिषदबाट आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरेको छ । गत साताको ३९ जना न्यायाधीश नियुक्ति सिफारिसमा कानुन व्यवसायीहरुको तर्फबाट भएका केही भागबण्डाको अनुहारमा बारले चर्को असहमति जनाएको छ ।
‘उच्चको न्यायाधीश नियुक्तिमा मनपरी भएको छ । भ्रष्टलाई पनि न्यायाधीश बनाइएको छ । वरिष्ठतामा रहेकाहरुलाई छुटाइएको छ,’ बारका एक जना पदाधिकारीले भने, ‘हाम्रा प्रतिनिधि रामप्रसाद श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेका छौं ।’
परिषद्को बैठकपछि श्रेष्ठलाई अस्ति छलफलको निम्ति बारमा बोलाइएको थियो । तर, मोबाइल अफ गरेर बसेका उनी बारको छलफलमा नगएको बताइन्छ । हिजोको बार बैठकले उनलाई परिषद प्रतिनिधिबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
बैठकको माइन्युटमा श्रेष्ठमाथि न्यायिक विश्वास नरहेको व्यहोरा उल्लेख छ । त्यसमा केही सदस्यले दस्तखत गरिसकेका छन् भने, २-३ जनाको सही हुन बाँकी छ । बारको हिजोको निर्णय भोलि औपचारिक रुपमा सार्वजनिक गरिँदै छ ।