१९६ देशका प्रहरीको खोजीमा ढोरपाटन नगरपालिका प्रमुख

12

बागलुङ:- सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा ‘रेड नोटिस’ जारी भएको छ । अब इन्टरपाेलमा सदस्य रहेका १९६ देशका प्रहरी संगठनले उनकाे खाेजी गर्नेछन् ।

सहकारीका बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेर फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेड नोटिस’ जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

नगरप्रमुख नेपाली गत जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका थिए । बागलुङ बजारमा मुख्य कार्यालयसहित गलकोट, बुर्तिवाङ तथा पोखरामा शाखा कार्यालयमार्फत बचत सङ्कलनबापतको उक्त रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशङ्कामा इन्टरपोलमार्फत खोजी गर्न प्रहरीले ‘रेडकर्नर नोटिस’ जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्नका लागि गत भदौमा पत्र पठाएको थियो ।

नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध एक हजार चार सय ८१ जनाले उजुरी दर्ता गराएका छन् । केसीका अनुसार बागलुङमा मात्रै सहकारीले आठ सय सेयर सदस्य र तीन हजार दुई सय बचतकर्ताको रु डेढ अर्ब बढी रकम बचत अपचलन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘विश्वभर इन्टरपोलमा आबद्ध देशका सुरक्षाकर्मीको सहयोगमा पक्राउ गर्नका लागि रेडकर्नर नोटिस जारी गरिन्छ’, प्रनाउ केसीले भने, ‘विश्वको जुन कुनामा भए पनि पक्राउ गरेर नेपाल ल्याउन र बचतकर्ताको रकम फिर्ता गर्नका लागि नोटिस जारी गरिएको छ ।’

ढोरपाटन–१ घर भएका नगरप्रमुख नेपालीसहित ११ जना सञ्चालकविरुद्ध गत असार २५ मा बागलुङस्थित जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । नगरप्रमुख नेपाली सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले इमेज सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यत्रय चित्रबहादुर भण्डारी, रुपा विक तथा झगबहादुर शाहीविरुद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयलाई गत जेठ १६ मा पत्राचार गरेको थियो ।

गत साउन ४ गते सहकारीका बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सञ्चालक भण्डारी, कर्मचारी प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो । आज नै कोषाध्यक्ष सेनलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।