टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन तीन दल सहमत

455

काठमाडौँ: दुई वर्षअघि कैलालीको टिकापुरमा एक दुधे बालक, नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने र दुईजना इन्स्पेक्टरसहित नौजनाको हत्यामा स‌ंलग्नहरुलाई उन्मुक्ति नदिने कुरामा प्रमुख तीन दल सहमत भएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको जेठ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकापुर घटनाका संलग्न अभियुक्त रेशम चौधरीसहित १३ जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिने मागमा सत्तापक्ष सहमत भएपछि केही दिनदेखि अवरुद्ध संसद बैठक पनि सुचारु हुने भएको छ ।

यो निर्णयपछि सरकारको तीब्र आलोचना भएको थियो । तीब्र दबाबबीच उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कुनै हालतमा यो मुद्दा फिर्ताको निर्णय नसच्चिने बताएका थिए ।

तीब्र दबाब परेपछि प्रधानमन्त्री प्रचण्डले भने मुद्दा फिर्ता नहुने बताउँदै सरकारले यसलाई सच्याउने बताएका थिए ।

मुद्दा फिर्तासम्बन्धी गृह मन्त्रालयमा पुगेको अभियुक्तको विवरण अनुसार टिकापुर हत्याकान्डमा संलग्न रामप्रसाद चौधरी, प्रेम चौधरी, हरीनारायण चौधरी, राजकुमार कठरिया, दिलबहादुर चौधरी, सुन्दरलाल कठरिया, रामकुमार कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, कसिनलाल चौधरी, करण चौधरी र श्रवण चौधरीलाई पक्राउ परिसकेका छन् ।

हत्याकान्डका मूख्ययोजनाकार भनिएका रेशमलाल चौधरी र इन्जिनियर धनीराम चौधरीसहित रामचन्द्र चौधरी, फुलराम चौधरी, विकास भन्ने बालकृष्ण चौधरी, शिवकुमार चौधरी चमन चौधरी र खुसीराम चौधरी अझै फरार छन् ।

फरार अभियुक्तहरु भारतमा लुकेर बसेको अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रणमका क्रममा टिकापुर घटनाका मुख्य योजनाका भनिएका रेशमलालसँग भेट समेत गरेका थिए ।

कर्तव्य ज्यानको अभियोगमा अदालतमा मुद्दा चलिरहेका व्यक्तिसँग भेटेको भन्दै त्यो बेला प्रधानमन्त्रीको तीव्र आलोचना भएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिका साथ अघि बढ्ने समझदारी भएको थियो ।