क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम हो-स्वास्थमन्त्री बस्नेत

42

सिन्धुपाल्चोक। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम भएको बताएका छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री बस्नेतले रोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन आग्रह गरेका हुन्।

मन्त्री बस्नेतले भने “क्षयरोग निर्मुलका लागि तीन बर्ष अगाडिदेखि सुरु भएको यो अभियानमा यस बर्ष थप एक सय वटा पालिकामा लागू हुँदैछ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट सुरु भएको यो अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन आग्रह गर्दछु। रोगको निदानका लागि जनचेतना नै महत्त्वपूर्ण हो, यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नु पर्छ।”

मन्त्री बस्नेतले रोग लागेपछि ओैषधि उपचार गर्ने भन्दा पनि जनचेतना जगाएर रोग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा जोड दिदै कुपोषणको सिकारबाट नागरिकलाई बचाउन ध्यान दिनुपर्ने बताए।

उनले क्षयरोग निर्मुलका लागि संघीय र प्रादेशिक सरकार भन्दा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने प्रष्ट पारे।

त्यसैगरी स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर संगीता कौशल मिश्रले मृत्यु हुनेहरुको संख्यामा ५० प्रतिशत क्षयरोगबाट हुने गरेको बताउदै समुदायको सहभागितामा यसको निर्मुल सम्भव छ भन्ने धारणा राखिन्।

कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले अभियानको बिषयमा प्रस्तुतिकरण दिएका थिए।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका, हेलम्बु गाउँपालिका जनप्रतिनिधिहरू जिल्लाका प्रशासकिय प्रमुखहरु लगायतकको उपस्थिति रहेको थियो।