स्वास्थ्य बीमाका विषयमा स्वास्थ्य मन्त्रीको चासो शुन्य

59

राजेश दिदिया
काठमाडौं । स्वास्थ्य बीमाका सवालमा स्वास्थ्य मन्त्रीको चासो शुन्य देखिएको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई स्वास्थ्य बीमाका विषयमा छलफलमा पटक पटक बोलाउँदा समेत नआएको भन्दै गुनासो गरेसँगै मन्त्रीको स्वास्थ्य बीमाका चासो शुन्य देखिएको हो ।

स्वास्थ्य बीमाः अवस्था र अपेक्षा विषयमा राजधानीमा पब्लिक पोलिसी पाठशाला र स्वास्थ्य खबर फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा सभापति जोशीले स्वास्थ्य बीमामा देखा परेका समस्या समाधानका लागि छलफल गर्न बोलाउँदा मन्त्री बस्नेत नआएको जानकारी दिएका हुन्।

सभापति जोशीले पटक पटक बोलाउँदा पनि मन्त्री नआएपनि आफूहरु नथाकेको र पुनःबोलाएर गम्भीर छलफल गर्ने तयारी भएको पनि जानकारी दिए। यद्यपि हामी थाकेका छैनौं। फेरि पनि बोलाउँछौं। यो समन्वय गरेर समाधान गर्ने तर्फ जान्छौं। उहाँलाई केही पर्योे होला भनेर बुझ्छु म। उहाँलाई फेरि बोलाएर जे जे समस्या देखापरेका छन् त्यस विषयमा छलफल गरेर समाधान खोज्छौं, उनले भने।

मैले धेरै भनेँ वास्तवमा। कमसेकम हामी त तपाईंको सहयोगी हौं। हामी समितिका मानिसहरु भनेको मन्त्रालयलाई कहाँ समस्या परेको छ त्यहाँ सहयोग गर्ने हो नि तर उहाँ आफैं आउन मान्नुभएन, उनले भने।

स्वास्थ्य बीमा बोर्ड र मन्त्रालयबीचका समस्या देखिएपछि त्यसलाई समितिको तर्फबाट समाधान गर्ने कुरामा गम्भीर छलफल गर्न पर्यो भनेर मन्त्रीज्यूलाई बोलाउँदा आउनु भएन, सभापति जोशीले भने, बीमा बोर्ड र मन्त्रालयबीच असहज अवस्था देखिएको हामीले महसुस गर्यौंभ। समिति अन्तर्गत पर्ने मन्त्रालय भएकाले हामीले चासो पनि राख्यौं। यो त भएन भनेर धेरै पटक बोलाउने प्रयास गर्योे मन्त्रीज्यू आउन मान्नु भएन। मैले पनि धेरै प्रयास गरेँ। अस्ति पनि गुनासो गरेँ। तर उहाँ ९स्वास्थ्य मन्त्री बस्नेत आउनु नै भएन।

जिम्मेवारीमा बसेका मानिसहरु मुद्दा खेप्नुपर्ने, लड्नुपर्ने यो त राम्रो भएन नि। तपाईंहरु यसरी लडाइँ लड्दा त जनतामाथि खेलवाड हुन्छ। जिम्मेवारीमा बस्ने मानिस चाहे मन्त्रालयका मन्त्रीज्यू हुनुहोला, चाहे सचिव ज्यू हुनुहोला। चाहे बिमा बोर्डका जिम्मेवारीमा रहेकाहरु नै हुनुहोला। यो त भएन, उनले भने, यहाँ केही न केही समस्या त देखियो नि। त्यसकारण यसलाई व्यवस्थित गराउने कुरामा हामी सचेत छौं। गम्भीर ढंगले छलफल गर्नेछौं।

सभापति जोशीले संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा स्वास्थ्य मन्त्री पदेन सदस्य नै रहने व्यवस्था रहे पनि छलफलमा मन्त्री नआउदा समस्या झनै बढ्ने भन्दै समाधानका लागि फेरि पनि प्रयास गर्ने जानकारी दिए।

उनले बीमा बोर्डका कार्यकारी निर्देशक र स्वास्थ्य मन्त्रालयको लडाइँका कारण बीमा कार्यक्रम प्रभावित हुनुका साथै जनताको स्वास्थ्यमाथि नै खेलवाड भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरे।