बाँसबारी जग्गा प्रकरण : पब्लिक कम्पनीको समझदारी, निजी कम्पनी बनाएर हिनामिना

104

काठमाडौं ।बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना गर्दा चौधरी समूहले पब्लिक कम्पनी बनाउने समझदारी गरी निजी कम्पनी बनाएर ठगी गरेको प्रहरीले जनाएको छ । सरकारी कम्पनीलाई च्याम्पियन फुटवेयर कम्पनीमा सेयर हाल्न लगाउँदा २४ प्रतिशत सर्वसाधारणलाई दिने भनेर समझदारी गरेकोमा त्यो सेयरको विवरण नै भेटिएको छैन ।

जुत्ता उत्पादनमा सरकारी कम्पनीलाई सहयोग गर्न भन्दै च्याम्पियन फुटवेयरले प्रस्ताव गरी १० रोपनी जग्गा लिएको थियो । सो कम्पनीमा चौधरी परिवारको ५१ प्रतिशत, बाँसबारी कारखानाको २५ र बाँकी २४ प्रतिशत सर्वसाधारणलाई दिने भनेर पब्लिक कम्पनी बनाउने समझदारी भएको थियो ।

तर, जग्गा लिएपछि सो कम्पनीका सञ्चालकहरूले पब्लिक कम्पनीलाई किर्ते गरी निजी कम्पनी बनाएको सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बताए । सिआइबीले चौधरी समूहका व्यवसायी अरुण चौधरी, तत्कालीन छाला तथा जुत्ता कारखानाका अध्यक्ष अजितनारायणसिंह थापा र हाल व्यवसायी चौधरीका साझेदार सञ्जय ठाकुरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सो जग्गामा हाल चौधरी समूहले चाँदवाग विद्यालय सञ्चालन गर्दै आएको छ ।

सरकारी कम्पनीलाई ठगी गरी त्यहाँको १० रोपनी जग्गा हत्याएको आरोपमा प्रहरीले अनुसन्धान गरेको हो । तीन महिनाभन्दा लामो अनुसन्धानपछि आरोपीलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

सुरुमा सस्तो मूल्यमा ६ रोपनी जग्गा सो कम्पनीले लिएको र पछि सेयरबापत थप चार रोपनी लिएको थियो । तर, तीन वर्षमै च्याम्पियन फुटवेयर बन्द भएको थियो । ०५४ मा चौधरीले नै बाँसबारी कारखानाको २५ प्रतिशत सेयर पनि हात पारी कम्पनीको नाम परिवर्तन गरेका थिए । जसमा जालसाजी भएको प्रहरी दाबी छ । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी सो जग्गा प्रकरणबारे सार्वजनिक गरेको हो ।

सरकारी जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभए पनि तत्कालीन अध्यक्ष थापाले चौधरी समूहको प्रभावमा परी कानुनविपरीतको निर्णय गरेको प्रहरी दाबी छ । प्रहरीले किर्ते र ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । देशका प्रभावशाली व्यापारी पक्राउ परेपछि सकेसम्म मुद्दा नचलाउने र चलाएपछि केही दिनभित्रै अनुसन्धान टुंग्याउन विभिन्न निकायबाट सिआइबीमाथि दबाब परेको छ ।नयाँ पत्रिका दैनिकबाट