टीकापुर जग्गा अनियमितता प्रकरणमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

53

काठमाडौं । कैलालीको टीकापुरमा भएको सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा ल्याएको आरोपमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार २४९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध मुद्दा दायर भएको अख्यितारका प्रवक्ता नरहरि घिमिरेले बताए । भ्रष्टाचार मुद्दा लाग्नेमा १४ जना टीकापुर नगर विकास समिति र त्यसको जग्गा वितरण गर्ने कामसँग सम्बन्धित पदाधिकारी हुन् । १ सय १० जना जग्गा धनी हुन् । जग्गा लिएकामध्ये ७ जनाको मृत्यु भएकाले उनीहरूको हकदारबाट बिगो भराउनुपर्ने अख्तियारको माग दाबी छ ।

४ जनाले पाएको जग्गा आफ्नो नाममा नआउँदै प्लटिङ गरेर बेचेको खुलेको छ । त्यो जग्गा उपभोग गरिरहेका थप १०७ जनामाथि पनि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ । ‘टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएकाले जग्गा आफ् नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा बिक्री हुँदै हाल कायम जग्गाधनीको हकमा बिगोसहितको सजायको माग दाबी लिई आरोपपत्र दायर गरिएको छ’, अख्तियारले विज्ञप्तिमा भनेको छ ।

अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मी, नगर विकास समितिको बोर्ड बैठकले गठन गरेका उपसमितिका संयोजक र सदस्यविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसँग २ करोड, १२ लाख ४० हजार ९४४ रुपैयाँ बिगो माग गरेको छ । त्यस्तै, अर्का तत्कालीन अध्यक्ष ललित ताम्राकारसँग ५९ लाख ३ सय ८० र धिजराज रेग्मीसँग ६६ लाख ९८ हजवार ८ सय ९२ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आरोपित हरेकले छुट्टाछुट्टै जग्गा बाँडेर भ्रष्टाचार गरेको देखिएकाले छुट्टाछुट्टै माग दाबी लिइएको बताए । उनले भने, ‘टीकापुर विकास समितिको जग्गा नै अवैध र गैरकानुनी रूपमा बाँडियो भन्ने आयोगको दाबी हो । त्यो काममा संलग्न र लाभ लिनेमाथि अख्तियारले मुद्दा चलाएको हो ।’ जग्गा वितरणका लागि टीकापुर नगर विकास समितिका अध्यक्षले बोर्ड बैठकबाट उपसमिति गठन गरेका थिए ।

नेत्रप्रसाद जोशी अध्यक्ष हुँदा बोर्ड बैठकबाट उपसमिति संयोजकमा गणेश सिंह रावल र सदस्यमा खड्कबहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्रबहादुर कुँवर र पदमराज न्यौपाने तोकिएका थिए । उपसमितिका संयोजक र सदस्यविरुद्ध अख्तियारले १ करोड ६५ लाख ६८ हजार १ सय ४९ रुपैयाँ बिगो माग गरेको छ । त्यस्तै, नगरविकास समितिको अध्यक्ष ललित ताम्राकार हुँदा गठित उपसमितिको संयोजकमा प्रेमसिंह बिक र सदस्यमा श्याम खत्री, भरत स्वाँर बेदराज ढुंगाना, दयाराम सन्ज्याल, पूर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर र तारा सञ्ज्याल थिए ।

उनीहरूविरुद्ध अख्तियारले ५९ लाख ३ सय ८० रुपैयाँ मागदाबी गरेको छ । टीकापुर विकास समितिका तत्कालीन योजना प्रमुख बलबहादुर कडायतमाथि समितिको अभिलेखमा रहेको सक्कली कागजात झैं हुनेगरी नक्कली कागजात खडा गरेको, रकम बुझाएको रसिद खडा गरेको भन्दै २ करोड ११ लाख बिगो माग दाबी गरिएको छ । अर्का योजना प्रमुख झप्पर सिंह विश्वकर्मामाथि नगर विकास समितिको स्वामित्वमा रहेका जग्गा व्यक्तिको नाममा सार्न भूमिका खेलेको आरोप छ ।

उनीमाथि १४ लाख १९ हजार बिगो माग दाबी गरिएको छ । अख्तियारले टीकापुर नगर विकास समितिका सदस्य सचिव अम्बादत्त जोशीमाथि उपसमितिका पदाधिकारी र जग्गाधनीसँग मिलेमतो गरी नक्कली कागजातहरुलाई वैधानिकता दिएको आरोप छ । उनीमाथि २ करोड ३० लाख रुपैयाँ बिगो माग दाबी गरेको छ । नापी कार्यालय टीकापुरका नापी अधिकृत मानबहादुर चन्दमाथि पनि मिलेमतो गरी कागजात तयार पारेको आरोपसहित १ लाख ९० हजार बिगो माग दाबी गरेको छ ।

अख्तियारले अर्का नापी अधिकृत गणेशबहादुर बममाथि कागजातको आधिकारिकता नबुझी हचुवाको भरमा स्रेस्ता प्रमाणित गरेको आरोप छ । उनीमाथि ४२ हजार रुपैयाँ बिगो माग दाबी गरेको छ । त्यसैगरी टीकापुरका मालपोत अधिकृत जयबहादुर विष्टमाथि १ करोड ६८ लाख, खरिदार धनीराम भण्डारीमाथि १ करोड ८६ लाख, सव ओभरसियर नेत्रबहादुर रावलमाथि १ करोड ७९ लाख, सुपरभाइजर देवीलाल घिमिरेमाथि २१ लाख ११ हजार बिगो माग दाबी छ ।राजधानी दैनिकबाट