टोखा नगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु

78

काठमाडौँ ।
टोखा नगरपालिकाले विष्णुमती नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । सार्वजनिक जमिन संरक्षण गर्ने अभियानलाई उच्च प्राथमिकता दिँदै नगरपालिकाले नदी आसपास निर्माण भएका अवैध संरचना हटाउने कार्यको सुरुवात गरेको हो ।
टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना मंगलबार बिहान डोजर चलाइएको टोखा नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीको अथक प्रयास र मेहनतमा उक्त कार्यको सुरुवाती भएको हो । उहाँले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएको बताउनुभयो ।
उहाँका अनुसार टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रुपमा निर्माण गरिएका संरचना हटाएको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमति करिडोरबाट आवतजावत लागि सहज गर्नका लागि उक्त क्षेत्रमा अवैध रुपमा निर्माण भएका टहराहरुमा डोजर लगाइएको बताउनुभयो । अधिकारीका अनुसार नगरपालिकाले यस अगाडि पटक पटक घर टहरा हटाउन आग्रह गर्दा पनि वेवास्ता गरेपछि नगरपालिका डोजर चलाउन बाध्य भएको हो ।
टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिका सक्रिय हुँदै आएको छ ।
उक्त समितिले आज टोखा नगरपालिका—८ स्थित फ्लोरोसेन्ट स्कुल अगाडि निर्माण गरिएका संरचना हटाएको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले बताउनुभयो । उहाँले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको स्पष्ट पार्नुभयो ।
नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमणि करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाउने छ ।
संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए । फ्लोरोसेन्ट स्कुल आसपासमा नदीको किनारा आसपासमा घर बनाएर बस्दै आएका स्थानीयले नगरपालिका र प्रहरीलाई अभद्र व्यवहार गरेका थिए ।
नगरपालिकाले केही दिन अघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई यस अगाडि देखि नै आग्रह गरेको थियो ।