निर्वाचन पूर्व गठबन्धन नगरौँः महामन्त्री थापा

53

गोदावरी । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचन पूर्व गठबन्धन गर्न नहुने प्रस्ताव गरेका छन्।

मंगलबार महासमितिको बैठकमा सांगठनिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन गर्न नहुने प्रस्ताव अघि सारेका हुन्।

उनले यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने संकल्प गर्नुपर्ने बताए।

उनले संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली काँग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रुपमा पुनः स्थापित गर्नुपर्नेमा जोड दिए।

विगतमा पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरुसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारिता प्रदर्शन गर्नुपर्नेमा पनि काँग्रेस सचेत रहेको उनको भनाइ थियो।

उनले २० बुँदे साङ्गठनिक सुधारको कार्ययोजना समेत प्रस्तुत गरेका छन्।