ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस्: सन्तोष परियार

240

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गरेका छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।

‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औं वर्षमा लागिसकेको छ। देशभरबाट ४० हजार भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन्। सरकार समाजवादउन्मुख भन्छ, शिक्षा महँगो छ। ख्वप कलेज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज हो। त्यहाँ न्यूनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेका छन्। विभिन्न औपचारिक, अनौपचारिक छलफलमा पनि प्रधानमन्त्रीज्यूलाई ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइदिन आग्रह गरेको थिएँ,’ उनले भने।

उनले शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक ल्याएको बताए।

‘ख्वप विश्वविद्यालयको विधेयक किन ल्याउनुहुन्न? तत्काल विधेयक ल्याइयोस्,’ उनले भने।