जनताको अपेक्षा संसदबाटै सम्बोधन गर्नुपर्छ : रामकृष्ण चित्राकार

42

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्राकारले जनताको अपेक्षा संसदबाट  सम्बोधन गर्नुपर्ने बताएका छन् । सदन जनताको सार्वभौम सत्ताको अभ्यास गर्ने ठाउँ भएकाले संसद्को गरिमा मर्यादा आफैले तयार गर्नुपर्ने उनले बताएका हुन् ।

प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री समेत रहेका चित्रकारले कानुन निर्माणका एकताबद्ध हुनुपर्ने थलो संसदमा समेत राजनैतिक हस्तक्षेप भइरहेको बताए । जनताका लागि ल्याउने कार्यक्रम योजना ल्याउँदा अवस्था परिवेशलाई ध्यान दिनुपर्ने उनले बताए ।

प्रदेशबाट जनताले धेरै अपेक्षा गरेकोले प्रदेश सरकार र संसद्ले गम्भीर रुपमा ग्रहण गर्न आवश्यक रहेको उनको भनाई छ । उनले सहमति सहकार्यले जनतालाई उत्साहित गर्ने र वर्तमान व्यवस्था बलियो बनाउन भूमिका खेल्ने बताए । मन्त्री चित्रकारले सहमति र सहकार्यको विकल्प नरहेको पनि बताए ।

‘प्रदेश सरकार स्पष्ट रुपममा जनताको पक्षमा रहेको छ । सरकार जिम्मेवार पूर्वक अघि बढिरहेको छ । विभाजित वा विखण्डित भएर विकासमा केन्द्रित हुनु वर्तमान आवश्यकता रहेको छ । संसद्ले राजनैतिक विषयमा मात्र केन्द्रित भएमा जनता निराशा हुन्छन् । व्यवस्थालाई दिगो बनाउन एकताबद्ध भएर अघि बढ्नु पर्ने हुन्छ,’ उनले भने ।

सरकार र प्रतिपक्षबिच विगतमा केही सहमति भएको भन्दै मन्त्री चित्रकारले त्यसलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए । जनताको समस्या किनार लगाउन सबै दलहरु मिल्न आवश्यक रहेको उनको भनाई छ । जनताको स्वास्थ्य, रोजगार उद्योगको विषयमा कार्य गर्न आवश्यक रहेको उनको भनाई छ ।

सदनको अंगको रुपमा संसदीय समितिको सभापति चयन गर्न नसकेको, सभापति चयनका विषयमा दलहरुबिच सहमति गरेर अघि बढ्नु पर्ने उनले बताए । सभापति चयनका विषयमा सहमति नभए विधि र प्रक्रियागत रुपमा अघि बढ्नुपर्ने उनले बताए ।