बार्सिलोनालाई लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि

434

काठमाडौं । बार्सिलोनाले लगातार तेस्रो सिजन स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा डिपोर्टीभो एलाभेसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले लगातार तेस्रो पटक उपाधि जितेको हो ।

कोपा डेल रे को उपाधि लगातार तेस्रो सिजन बार्सिलोनालाई दिलाउन कप्तान लियोनल मेस्सी, नेयमार र पाको एलकेसरले समान एक एक गोल गरे । एलाभेसका लागि थियो हर्नान्डेजले एक गोल फर्काए । उपाधि भिडन्तमा सबै गोल पहिलो हाफमा भएको थियो ।

स्टादियो विसेंटे स्टेडियममा खेलको ३० औं मिनेटमा मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो ।  तर, खेलको ३३ औं मिनेटमा एलाभेसका हर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको  ४५ औं मिनेटमा नेयमारले गोल गर्दै पुन बार्सिलोनालाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एलकेसरले गोल गरेपछि बार्सिलोनाले ३–१ को अग्रता लियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल बार्सिलोना ३–१ ले जित्दै कोपा डेल रेको उपाधि आफ्नो बनायो ।

योसँगै प्रशिक्षक लुइस इन्रीकेको टोलि बार्सिलोनाले २९ औं कोपा डेल रेको उपाधि क्लबमा भित्राउन सफल भयो ।  यो सिजन स्पेनिस ला लिगामा दोस्रो भएको बार्सिलोनाको सिजनको पहिलो उपाधि हो ।