सरकारमा बेकामे र अनैतिक भएर बस्नुभन्दा राजीनामा दिन गोसाईंको सुझाव

37

काठमाडौँ । नेमकीपा बागमती प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले सरकारमा बेकामे र अनैतिक भएर बस्नुभन्दा राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सुझाव दिएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेता गोसाईंले प्रदेश सरकारले बेकामे र अनैतिक भएर पदमा बसिरहनुभन्दा राजीनामा दिएर स्वास्थ्यलाभ गर्न घर बस्नु उपयुक्त हुने बताए ।

‘राजनीतिमा दिएको वचन पूरा गर्न सकिएन, जनताको पक्षमा कामनै गर्न सकिएन, बारम्बार हात उठाउनुपर्ने स्थिति आयो र आफू मातहतका कर्मचारीलाई समेत तह लगाउन सकिएन भने एउटा सरल उपाय बाँकी रहन्छ । त्यो हो– राजीनामा,’ उनले भने ।

प्रदेश सरकारले बारम्बार झुक्याउने खेल खेलिरहेको उनले बताए । प्रदेश सरकारले बारम्बर झुक्याउँदा ‘बाघ आयो, बाघ आयो’ भन्ने ठग गोठालोको कथा प्रतिविम्ब गरिरहेको उनको भनाई छ । राजनीतिक बेइमानी धेरै दिन टिक्दैन भन्ने विषय प्रदेश सरकारलाई हेक्का राख्नुपर्ने उनले बताए ।

राजनीति इमानदारी, नैतिकता, विचार तथा सिद्धान्तमा आधारित रहने र राजनीति राजनीति बन्ने अवस्था आउँदा अपराध कर्म र ठगीनीति बन्ने उनले बताए । सिद्धान्त एउटा व्यवहार अर्को र सरसंगत झनै अर्को हुँदा राजनीतिक कार्यकर्तालाई सबैभन्दा गाह्रो अवस्था आउने उनले बताए । शासक दलहरु राजनीतिसँग जिस्किरहेको उनले टिप्पणी गरे । देशमा गम्भीर राजनीतिक तथा आर्थिक सङ्कटमा बढ्दै गएकोले देश कसले चलाउँदै छन् भन्ने प्रश्न खडा भएको उनले बताए । प्रदेश सरकार आफूसँग भएको विकास बजेटसमेत खर्च गर्ने ल्याकत नरहेको उनको भनाई छ ।