आगलागीबाट दुई करोड भन्दा बढीको क्षति

516

नेपालगन्जः नेपालगञ्जको धम्बोजी चोक नजिक रहेको श्रेया इन्टेरियर इण्डष्ट्रिज प्रालिमा आगलागि हुँदा त्यहाँ रहेको २ करोड बढीको आधुनिक फर्निचर लगायत अन्य बहुमूल्य डेकोरेशनका सामानहरू जलेर खरानी भएका छन् ।

आइतबार बिहान करिब ९ बजेतिर विद्युत् सर्किट सर्ट भएर लागेको सो आगो नियन्त्रणमा लिन करिब तीन घण्टाको समय लागेको थियो । नेपालगन्ज, कोहलपुर र बिमानस्थलमा रहेको अत्याधुनिक दमकलको प्रयोग गरिएपनि आगलागि नियन्त्रणमा सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो ।

श्रेया इन्टेरियर इण्डष्ट्रिज प्रालिमा भएको आगलागी नियन्त्रणका लागि नजिकै रहेका प्रहरी तालिम केन्द्र, गुल्म, अञ्चल प्रहरी कार्यालय लगायतबाट सयौँको सङ्ख्यामा प्रहरी र नेपाली सेनाको एक टुकडीलाई समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पानीको अभावले समस्या भएपछि सुरक्षाकर्मी र स्थानीयले बाल्टीमै भए पनि पानी बोकेर दमकलमा पुर्याएको र करिब तीन घण्टाको अथक प्रयासबाट आगो निभाउन सफल भएको बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए ।

उनले आगलागीबाट २ करोड बढीको समाना जलेर खरानी भएको बताउँदै अझै विवरण सङ्कलन भइरहेकोले तयो बढ्न सक्ने बताए ।

आगो लागेको खबर बाहिर आउनासाथ प्रहरी प्रमुख राई, बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थ र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्यले आगो नियन्त्रणको नेतृत्व गरेका थिए ।

पंकज श्रेष्ठले सञ्चालन गरेको कार्पेट, फर्निचर लगायतको सो पसलमा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीको अनुमान छ । सञ्चालक श्रेष्ठले बन्द पसलमा एक्कासि आगलागी भएको बताएका छन् ।

आगोले पसल छेउमै रहेको होटेल सम्मान र केही अन्य घरमा समेत क्षति पुर्‍याएको छ । सम्मान होटेलमा मान्छे रहेको आशंकामा उद्धारमा जाँदा एक प्रहरी घाइते भएका थिए । तालिम केन्द्रका घाइते प्रहरी निराजन विकको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

आगलागी भएपछि बजारमा समेत दमकल पुग्न ढिलाइ हुने गरेको गुनासो बारम्बार बाहिर आउने गरेको जनाउँदै नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैशयले यसबारे सम्बन्धित निकाय समयमै गम्भीर हुनुपर्ने बताएका छन् ।