निर्वाचनको मुखमा राजपाले निकाल्यो लाठी जुलुस

445

सप्तरीः आउँदो ३१ जेठमा हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा राष्ट्रिय जनता पार्टी (राजपा) सप्तरीले आइतबार जिल्लाका विभिन्‍न ठाउँमा लाठी जुलुस प्रदर्शन गरेको छ ।

संविधान संशोधन र जनसङ्ख्याको आधारमा स्थानीय तहको पुर्नगठन नगरिकन सरकारले एकलौटी निर्वाचन गराउन लागेको भन्दै शुक्रवार राजपासहितको सङ्घीय गठबन्धले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

आन्दोलनको कार्यक्रम अनुसार आइतबार सप्तरी सदरमुकाम राजविराज तथा नगरपालिकाहरु कञ्चनरुप, हनुमाननगर कंकालिनी, शम्भुनाथ, डाकनेश्वरी, बौदेबर्साइनसहितका स्थानहरुमा राजपाले लाठी जुलुस प्रदर्शन गरेको हो ।

वर्षा भईरहकै अवस्थामा सदरमुकाम राजविराजको लाठी जुलुस प्रदर्शनमा गाउँगाउँबाट राजपाका कार्यकर्ताहरू सहभागी भएका थिए ।

स्थानीय शिव मन्दिर प्राङ्गणबाट निस्किएको राजपाको लाठी जुलुस नगरको विभिन्न भागलाई परिक्रमा गर्दै जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै राजपाका नेताहरूको माग सम्बोधनकालागि संविधान संशोधन गर्नुको विकल्प नरहेको र माग पूरा नहुञ्जेल मधेसमा चुनाव हुन नसक्ने चेतावनी दिएका थिए ।

यसअघि केन्द्रीय कार्यक्रमअनुसार राजपाले शनिवार सदरमुकाम राजविराजसहित जिल्लाका ९ वटै नगरपालिका क्षेत्रमा मशाल जुलुस प्रदर्शन गरेका थिए ।