भक्तपुर । शनिबार भएको निर्वाचनमा इमरान खान समूहका उम्मेदवार महमूद खान अचकजाईलाई पराजित गर्दै पाकिस्तानको १४ औं राष्ट्रपति पदमा आसिफ अली जरदारी निर्वाचित भएका छन्।
जरदारीले ४११ मत पाए भने अचकजाईले ११८ मत मात्रै पाए। नवाजको पार्टी पीएमएल-एन र बिलावलको पार्टी पीपीपीले मिलेर आसिफ अली जरदारीलाई उम्मेदवार बनाएको थियो।
जरदारी सन् २००८ मा पनि राष्ट्रपति पनि बनेका थिए। इमरान समर्थक एसआईसी पार्टीले महमूद खान अचकजाईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो। राष्ट्रपति निर्वाचनमा मतदानका क्रममा पाकिस्तानको राष्ट्रिय सभाका केही सदस्यले इमरान खान जिन्दाबादको नारा लगाएका थिए।
जरदारीले आफ्नो पार्टी पीपीपीसहित नवाजको पार्टी पीएमएल-एन र ३ अन्य पार्टी एमक्यूएम-पी, बीएपी, आईपीपीको समर्थन पाएका थिए।
मौलाना फजल-उर-रहमानको पार्टीले आम निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै संसदसँग सम्बन्धित सबै निर्वाचन बहिष्कार गरेकाले राष्ट्रपतिको निर्वाचनमा भाग लिएन। पाकिस्तानी मिडिया द डनका अनुसार नयाँ राष्ट्रपतिले आइतबार सपथ लिने छन्।