काठमाडौं ।सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको विवरणहरू सार्वजनिक भएका छन्।
उनलाई कपिलवस्तुबाट “पक्राउ गरी काठमाण्डू ल्याउन लागिएको” जानकारी नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालले दिएका छन्।
सुन तस्करीबारे छानबिन गर्न गठित आयोगले विभिन्न व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरेको थियो। त्यसमा महराको पनि नाम भएको बुझिएको छ। महरा पूर्वसभामुख हुन्।
केही वर्षअघि यौन दुराचारको आरोप लागेपछि उनले प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएका थिए।
प्रहरीले उनलाई किन पक्राउ गरिएको भन्ने कारण खुलाइसकेको छैन।
स्थानीय प्रहरीका अनुसार उनी रोल्पा जान हिँडेका थिए।
बढ्दो प्रहरी निगरानीका कारण अवस्था असहज भएको र प्रहरीलाई सजिलो बनाइने उद्देश्यले आफू रोल्पा नगएर काठमाण्डू फर्किन लागेको बताएको रूपन्देहीका एक प्रहरी अधिकृतले बताए।
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले साढे पाँच महिनापछि आफ्नो प्रतिवेदन गत साता गृहमन्त्रीलाई बुझाएको थियो।
आयोगका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार प्रतिवेदनले दोषीमाथि मुद्दा चलाउन र विभागीय कारवाही गर्न सिफारिस गरेको छ।
सीडीआर (कल डिटेल्ड रिपोर्ट)/डीएफएल (डिजिटल फरेन्सिक ल्याब) मा नियमित देखिएका व्यक्तिहरूको सूची तथा निर्दोष देखिएकाहरूको नामावली पनि प्रतिवेदनमा समेटिएको छ।
प्रतिवेदन बुझ्दै उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले दोषीमाथि कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।