एचआईभी संक्रमितको जीन सम्पादन गरेर एचआईभी हटाउन सकिने दावी

20

वीवीसी । वैज्ञानिकहरूले एचाईभी सङ्क्रमित कोषहरूबाट उक्त भाइरसलाई सफलतापूर्वक हटाउन सकिएको दाबी गरेका छन् । सङ्क्रमित कोषलाई एचआईभीबाट मुक्त गर्न उनीहरूले क्रिस्पर जीन सम्पादन विधि प्रयोग गरेका बैज्ञानिकहरुले दावी गरेका छन् । जीन सम्पादन गर्दा डीएनए काट्न मिल्छ अनि डीएनएमा भएको विकृत भागलाई हटाउन वा निष्क्रिय पार्न सकिने बैज्ञानिहरुले दावी गरेका छन् ।
यूनिभर्सिटी अफ एम्स्टड्र्यामका वैज्ञानिकहरूले यसबारे अनुसन्धान गरेका हुन् । उक्त टोलीले यो साता आयोजित एउटा मेडिकल सम्मेलनमा प्रारम्भिक नतिजाहरूको सारांश प्रस्तुत गर्दै आफ्नो शोध केवल थालनी भएको र त्यो तत्काल एचआईभीको उपचार नबन्ने स्पष्ट पारेका छन् ।
स्टेम सेल र जीन थेरपीका विज्ञ तथा यूनिभर्सिटी अफ नटिङ्गमका सहप्राध्यापक डा जेम्स डिक्सन पनि त्यसमा सहमत छन् । उनका अनुसार पूरा नतिजाको समेत परीक्षण हुनुपर्छ।
भविष्यमा उपचारविधि बनाउने हो भने कोषमा गरिने यस्ता परीक्षणको नतिजा पूरै शरीरमा पनि आउँछ भन्ने देखाउने गरी धेरै काम गर्नुपर्ने हुन्छ, उनले भने ।
एचआईभी भएका मानिसमा प्रभाव पार्न धेरै सुधार आवश्यक हुन्छ ।
अरू वैज्ञानिकहरूले पनि एचआईभीविरुद्ध क्रिस्पर विधि प्रयोग गर्न खोजेका छन् ।
एक्सिजन बायोथेरप्यूटिक्सले आफ्नो परीक्षणमा सहभागी भएका एचआईभी सङ्क्रमित तीन स्वयंसेवकमा ४८ सातापछि कुनै गम्भीर दुष्प्रभाव नदेखिएको बताएको छ ।
तर लन्डनस्थित फ्रान्सिस क्रिक इन्स्टिट्यूटमा कार्यरत भाइरसविज्ञ डा जोनाथन स्टोय शरीरमा भएका सबै कोषबाट भाइरस हटाउनु निकै चुनौतीपूर्ण भएको बताउँछन् ।
यो उपचारको अफ टार्गेट (अवाञ्छित) प्रभावले दीर्घकालीन दुष्प्रभाव निम्त्याउन सक्छ । त्यो चिन्ताको विषय हो, उनले भने ।
तसर्थ प्रभावकारी भयो भने पनि क्रिस्परमा आधारित उपचारविधि चलनचल्तीमा आउन निकै वर्ष लाग्न सक्छ ।