भक्तपुर । भक्तपुरको थिमीमा उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता हुने भएको छ ।
लिच्छविकालमा बोसिंग्राम नाम उल्लेख भएको यही ऐतिहासिक शहर बोडेमा उपत्यकाव्यापी धिमय् प्रतियोगिता हुने भएको हो । मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमय् गुठी खपला धिमय् गुठीको सहकार्यमा उपत्यकाव्यापी धिमय् बाजा प्रतियोगिता तथा संस्कृति मेला हुने भएको हो ।
प्रतियोगिता चैत २६ गते मध्यपुर थिमि ८को लायकुमा हुने भएको हो ।
सो विषयमा आयोजक समितिले गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक दिलकृष्ण प्रजापतिले धिमय् प्रतियोगितासँगै हुने संस्कृति मेलाले बोदेको इतिहास झल्काउन सहयोग पुग्ने बताए । पहिलोपटक बोडेमा ऐतिहासिक काम हुन लागेको उल्लेख गर्दै उनले मेलामा २५ स्टल रहने र सो मेलामा मिनी फुड फेस्टिबल, तस्बिर प्रदर्शनीसमेत हुने बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद, दोस्रोलाई २५ हजार, तेस्रोलाई १५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने टोलीलाई १० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।
परम्परादेखि जीवित रहँदै आएको मूर्त तथा अमूर्त सम्पदाहरूलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै पर्यटन प्रवर्द्धनका लागि गर्न लागेको सो प्रतियोगितामा भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न स्थानहरूका बाजा समूहले बजाउँदै आएको बाजा हेर्न र सुन्न सकिने आयोजकले जनाएको छ ।