‘क्यान्सर लाग्दैमा ज्यान जाँदैन, विरामीलाई सहि उपचार र हौसला आवश्यक छ’—अम्बिका श्रेष्ठ

22

काठमाण्डौ । नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टरको छैठौं सम्मेलन तथा अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एस्को) को वहुआयामिक क्यान्सर व्यवस्थापन कोर्स राजधानीमा सम्पन्न भयो ।
दुईदिनसम्म आयोजना भएको सो सम्मेलनमा नेपाल लगायत अमेरिका, भारत, पाकिस्तान र श्रीलंकाका छाती (फोक्सो) तथा टाउको र घाँटीको क्यान्सर विशेषज्ञ, सर्जनका साथै क्यान्सरका विरामीको उपचारसंग सम्वन्धित रेडिएशन, प्याथोलोजी, नर्सिङ्ग, सामाजिक र मनो परामर्शदाता लगायतको सहभागिता थियो ।
पछिल्लो समयमा छाती (फोक्सो) तथा टाउको र घाँटीको क्यान्सरको निदान र उपचारमा प्रयोग गरिएका औषधि र उपचार विधिबारे अनुभव आदान प्रदान गर्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको सम्मेलन आयोजक समितिका अध्यक्ष एवम् वरिष्ठ छाती तथा क्यान्सर विशेषज्ञ डा.मदनकुमार पियाले बताए ।
क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर जाउलाखेल, र अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एस्को) को संयुक्त आयोजनामा भएको सम्मेलनको नेपालकै जेष्ठ होटल व्यवसायी, द्वारिकाज होटल एण्ड रिसोर्टकी अध्यक्ष ९३ वर्षिया अम्बिका श्रेष्ठले उद्घाटन गरीन् ।
सम्मेलनमा नेपालीको बढ्दो जीवनस्तर र परिवर्तित जीवनशैलीका कारण क्यान्सरका विरामी बढीरहेको उल्लेख गर्दै श्रेष्ठले विरामीहरुलाई समयमै उपयुक्त उपचारको साथै उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुबाट सहयोग र हौसला आवश्यक रहेको बताइन् ।
‘क्यान्सर लाग्दैमा ज्यान जाँदैन, क्यान्सरपछि पनि जीवन छ, तर यो कुरा उपचारमा संलग्न चिकित्सकले विरामीलाई हौसला दिएर उसले बुझ्नेगरि सम्झाउनुपर्छ’—उनले भनीन् ।
श्रेष्ठले आफुलाई पनि धेरै अघि क्यान्सर भएको तर समयमै उपचारपछि क्यान्सरलाई जित्न सफल भएको अनुभव सुनाईन् ।
कार्यक्रममा क्यान्सर केयर नेपालका महासचिव तथा सम्मेलन आयोजक समितिका महासचिव प्रा.श्यामकृष्ण जोशी, सचिव डा. रश्मी पुन, सम्मेलनको वैज्ञानिक समितिकी अध्यक्ष डा.सन्ध्या चापागाई र क्यान्सर केयर नेपालका उपाध्यक्ष प्रभुराज वैद्यले सम्मेलनका आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए भने सम्मेलनमा सहभागी भएका एस्को अमेरिकाका डा.प्रकाशचन्द्र न्यौपाने र डा.सराह, पाकिस्तानका प्रा.डा.मोहम्मद इजाज मसुद, श्रीलंकका डा. एन.जय कुमारनन, टाटा मेमोरियल अस्पताल भारतका उपनिर्देशक डा.पंकज चर्तुवेदीलगायत सम्मेलनले दक्षिण एशियामा क्यान्सरको निदान र उपचारमा सरलता र एकरुपता आउँदै गरेकोमा खुसी व्यक्त गरे ।