भक्तपुर । भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु भएको छ । बागमती प्रदेशका कोही पनि सिप विहीन भई बेरोजगार नहुन भन्ने हेतुका दिँदै आएको तालिम अन्तर्गत भक्तपुरमा नौ दिने अचार बनाउने तालिम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
उद्योग तथा वाणिज्य कार्यालयको आ व २०८०÷८१ को वार्षिक कार्यक्रम अन्तर्गत भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ,महिला उद्यमी समितिको संयोजनमा आजबाट ९ दिने अचार बनाउने तालिम दिन लागिएको हो ।
तालिम थालनीलाई सम्बोधन गर्दै भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेम खर्बुजाले बागमती प्रदेश सरकारले कोही पनि जनता सिप विहीन भई बेरोजगार नहोस् भने उद्देश्यले विभिन्न तालिमहरू दिई रहेको जानकारी दिनुभयो । उहाँले तालिम मात्र तालिमको लागि नभई उद्यमी बने हेतुले तालिम लिन हुन अनुरोध गर्नुभयो ।
साथै उहाँले तालिम लिई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता नवीकरण गरी उद्यमी बन्ने बागमती सरकार नेपाल सरकारले विभिन्न सुविधाहरू प्रदान गर्ने गरेको र ती सेवा सुविधा लिन सङ्घले सहजी करण गर्दै आईरहेको बताउनु हुँदै तालिम लिई उद्यमी बन्न सकोस् भनी शुभकामना दिनुभयो ।
त्यसै गरी उद्योग तथा वाणिज्य कार्यालयका लक्ष्मीप्रसाद कासुलाले चुरा लगाउने हातले सीप सिकी आत्मनिर्भर हुन सकोस् र नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गरी उद्योग सञ्चालन गरेमा बागमती सरकार अन्तर्गत उद्योग तथा वाणिज्य कार्यालयबाट दिने सुविधाको लागि सहजीकरण गर्न कार्यालय तत्पर रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ ,महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठले भक्तपुरमा अचारका उद्यमीको कमीको महसुस गरी उद्योग वाणिज्य कार्यालय सँग अचारको तालिमको माग गरेको जानकारी गराउँदै तालिम लिई अबको दिनमा बजारमा भक्तपुरबाट उत्पादित अचार बजारमा आउने आशा व्यक्त गर्नु भयो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ महिला उद्यमी समितिका सचिव सुचिता सैजु तथा प्रशिक्षक अनिता गौतमले तालिमको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।