कोन्ज्योसोम प्रतिमाको उद्घाटन प्रधानमन्त्रीले गर्ने

12

ललितपुर। कोन्ज्योसोम गाउँपालिका वडा नंं ५ फूलबारी डाँडाँ भारदेउ स्थित कोन्ज्योसोम प्रतिमाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” द्धारा हुने भएको छ । जेठ १० गते बुद्धजयन्तीको दिन कोन्ज्योसोम गाउँ गौरवको योजना अन्तर्गत निर्माण भएको कोन्ज्योसम प्रतिमाको उद्घाटन प्रधानमन्त्रीले गर्ने जनाइएको छ ।
प्रतिमा उद्घाटन कार्यक्रममा सहभागि हुन गाउँपालिका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजनप्रसाद घिमिरे, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडाध्यक्ष, निर्वतमान अध्यक्ष गोपीलाल सिंतान लगायतले सहभागि हुन लागि सबैमा आग्रह गर्नुभएको हो । गाउँपालिकाले गाउँ गौरवको योजना अन्तर्गत कोन्ज्योसम प्रतिमा सम्पन्न गरेको छ । उक्त प्रतिमा संभवत नेपालकै लागि नमूनाको भएको दावी गरिएको छ ।
उक्त कार्यक्रममा स्थानीय कला र सँस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम झाँकी समेत हुने गाउँपालिकाले जनाएको छ ।
कोन्ज्योसोम गाउँपालिका ललितपुरको अग्लो स्थानमा रहेको छ । ‘स्वयम्भुमा रहेको बुद्धको मूर्ति ४६ फिटको छ भने कोन्ज्योसोममा रहेको तीन बुद्धको मूर्तिमध्ये बीचको मूर्ति ५६ फिटको रहेको जनाइएको छ । यसैगरी दायाँबायाँ ५२ फिटको बुद्धको मूर्तिको निर्माण गरिएको छ,। अहिले कोन्ज्योसोमलाई गाउँपालिकाले गाउँ गौरवको योजनाको रुपमा घोषणा गरेको छ । गाउँपालिकाको नाम कोन्ज्योसोमकै नामबाट राखिएकाले पनि गाउँपालिकाले यसलाई गाउँ गौरवको योजनाको रुपमा राखेको गाउँपालिकाले जनाएको छ । भोट बर्मेली भाषा परिवारसँग सम्बन्धित तामाङ भाषाअन्तर्गत बौद्ध सभ्यताको पहिचान कोन्ज्योसोमले बोकेको छ । कोन्ज्योसोम प्रतिमाको अर्थ बुद्ध धर्मबाट उल्लेख गरिएको छ । कोन्ज्योको अर्थ भगवान् हो भने सोमको अर्थ त्रिदेव हो ।
त्रिदेव भनेको ब्रह्मा, विष्णु र महेश्वर हो । लामा भाषाबाट कोन्ज्योसोमको अर्थ बुद्धका तीन रत्न हुन् । बुद्धरत्न, धर्मरत्न, संघरत्न हो । बौद्ध सभ्यतामा संघको स्थान अत्यन्तै महत्वपूर्ण हुन्छ ।
बुद्धत्व प्राप्तिका लागि धर्म रत्नको अनुशरण र अभ्यास गर्ने अनुयायीहरूको समूहलाई बौद्ध संघ भनिन्छ । सामान्यतया यी तीन रत्नलाई शरण स्थानको केन्द्र बिन्दुमा स्वीकार गरी शरणगमनशील तथा पञ्चशील पालना गर्ने व्यक्तिको समूह मात्र बौद्ध संघ हुन्छ । बौद्ध सभ्यताको यसै नामबाट कोन्ज्योसोम गाउँपालिकाले पहिचान पाएको गाउँपालिकाले जनाएको छ ।