चितवन : ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे। करिब एक लाख ८ हजार मत सुरक्षित साथ गनियो। मतगणना हुन बाँकी अन्तिम ४ हजार मत निर्णायक हुनेवाला थियो। तर, सो मतगणना हुनै पाएन। एकाएक मतपत्र च्यातिएपछि अब वडा नम्बर १९ मा पुनः मतदन कि मतगणनालाई निरन्तरता दिइनेछ भन्ने अन्योलता छाएको छ। माओवादी र कांग्रेस गठबन्धन उम्मेदवार रेणु दाहालले करिब ३८ सयबाट मतान्तर करिब ७ सयमा झारीसकेकी थिइन्। आइतबार राति भरतपुरस्थित कभर्डहलमा वडा नम्बर १९ को मतगणना भइरहेको थियो। त्यसपछि मतगणना हुन वडा नम्बर २० को मात्र बाँकी थियो। करिब २८ सय मतदाता रहेको वडा नम्बर १९ को पनि १ हजार ८ सय मतगणना भएर नतिजा सार्वजानिक भइसकेको थियो। थप ६ सय अर्थात् कुल २४ सय मतको परिणाम सार्वजनिक हुनै लाग्दा मतपत्र च्यातिएको हो। लगत्तै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सोमबार बिहान १ बजेर २० मिनेटमा सूचना टाँस गरी अनिश्चित कालका लागि मतगणना रोकिएको जानकारी गराए। मतपत्र च्यातिएको घटनाबारे छानबिन गर्न गठित समितिले आज निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदै छ। अनुसन्धान सकेर समिति सदस्यहरु मंगलबार नै काठमाडौं फर्केका छन्। नयाँ पत्रिका